इटहरीः सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ६ की महिला सदस्य लक्ष्मी चौधरीले वडाको बजेटमा चरम मनोमानी गरेको पाइएको छ ।

वडाबाट सञ्चालन हुने कार्यक्रम तथा आयोजनाहरुमा नातावाद, कृपावाद र आफन्तवादको प्रयोग गर्दै आफ्ना मान्छेलाई हालीमुहाली गर्न दिने गरेको पाइएको हो । निर्वाचित भएकै समयबाट वडाको काममा मनोमानी र बजेटको आफूखुसी प्रयोग गरेको यहाँका स्थानीयले बताएका छन् । पटक पटक भन्दा पनि मनोमानी नरोकिएपछि शुक्रबार स्थानीयहरुले वडा कार्यालयमा नै पुगेर लक्ष्मीलाई यसबारेमा स्पष्ट पार्न भन्दै प्रश्न सोधेका थिए । ३० जनाको हाराहारीमा पुगेका वडावासीले सोही वडाका वडाध्यक्ष हेमनारायण राजधामीसँगै राखेर प्रश्न गरेका थिए ।

पुल निर्माण समितिको अध्यक्षमा श्रीमान
लक्ष्मीले आफन्तवाद लगाएको सोही वडामा रहेको मैनीमा बनेको पुलबाट प्रष्ट हुन्छ । लक्ष्मीको घर वडा नम्बर ६ मा रहेको बक्लौरी चौकमा नै छ । तर मैनी भने त्यहाँबाट झण्डै दुई किलोमिटर टाढा रहेको छ । स्थानीय मध्येका एकले ‘आफ्नो श्रीमानलाई किन त्यहाँको समितिको अध्यक्ष बनाएको’ भन्दै प्रश्न गरेका थिए । भेलाबाट जतिसक्दो उम्कने प्रयास बारम्बार गरिरहेकी लक्ष्मीले जवाफमा स्थानीयको भेलाबाट अध्यक्षमा विन्देश्वर चौधरी (श्रीमान)लाई राखेको बताइन् । मैनीका एक स्थानीयले आफू त्यही ठाउँको स्थानीय भए पनि भेलाबार विन्देश्वरलाई राखिएकोबारे आफू अनभिज्ञ रहेको बताएपछि लक्ष्मी निरुत्तर बनिन् । अर्का स्थानीयले उनका श्रीमान बक्लौरी बासिन्दा भएर कसरी मैनीको पुलको अध्यक्ष भए भनेर जवाफ माग्दा उनले कुनै उत्तर दिइनन् । प्रदेशसभाबाट दश लाख र वडाको पाँच लाख गरी जम्मा १५ लाख रुपैयाँमा बनेको सो पुलमा भनेजति काम पनि भएको छैन । वडाबाट समिति बनाएर गरिएको सो योजनामा पुलमा रंगरोगन गर्ने पनि भनिएको थियो । तर अहिलेसम्म सो काम हुन सकेको छैन । रंगरोगनकै लागि वडाबाट ७० हजार रुपैयाँ लिइएको पनि खुलेको छ । पुल भने अहिले जिर्ण बन्दै गएको छ । पुल बनाउँदा आफूले विदेशबाट गुणस्तरीय सामान ल्याएर बनाउने वाचा गरेकी उनले सो अनुसारको काम गर्न नसकेको स्थानीयको भनाइ छ । यही विषयलाई लिएर लक्ष्मीको पार्टी तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाले पनि स्पष्टिकरण सोधेको थियो ।

Maini pul

जेठाजुलाई बोका अनुदान
आयोजनको काममा आफन्तलाई अध्यक्ष बनाउन मात्र होइन, वडा तथा अन्य सरकारबाट प्राप्त हुने अनुदानमा पनि आफन्तलाई नै प्रवेश गराउन लक्ष्मी माहिर देखिएकी छन् । यसै कारण वडाले वितरण गरेको बिउ बोका पनि लक्ष्मीले आफ्ना जेठाजु बमर चौधरीलाई दिएको पाइएको छ । वडाले झण्डै पाँच जनाको हाराहारीमा गत आर्थिक वर्षमा वितरण गरेको बोका उनले आफ्नै जेठाजु बमरलाई दिएको पाइएको हो । यही कुरालाई लिएर वडा कार्यालयमा भेला भएका स्थानीयले सोध्दा उनले छनौट गर्दा बमर परेको र यसमा आफ्नो कुनै कसुर नरहेको बताइन् । तर, स्थानीयले चित्तबुझ्दो जवाफ नदिएको भन्दै उनीविरुद्ध नारा जुलुससमेत गरेको छन् ।

सरकारी सम्पत्ति निजीकरण
लक्ष्मीको मनोमानी यतिमा मात्र सीमित छैन । उनले सकेसम्म सरकारको सामान आफ्नो बनाउने गरेको पाइएको छ । उनले अर्कै ठाउँमा लान भनी उत्खनन् गरेको ह्युमपाइप आफ्नै घरअगाडि हालेकी छन् । एक स्थानीयका अनुसार उनको निजी स्काभेटरबाट उत्खनन् गरिएको ह्युमपाइप सीताले बक्लौरी चौकमा रहेको आफ्नै घरअगाडि राखेकी छन् । ती स्थानीयका अनुसार सो ह्युमपाइप अन्यत्र लैजाने योजना थियो । तर, केही समयको अन्तरालमा नै लक्ष्मीले ह्युमपाइप आफ्नो बनाएकी हुन् । रामधुनीको कान्छि चौकबाट वराहक्षेत्रको चतरा जाने सडकको बक्लौरीमा उनको घरअगाडि गाडिएको सो ह्युमपाइप अहिले सजिलै देख्न भने सकिँदैन ।

ramdhuni-6 wada office

अनुदानको बोका गायब
लक्ष्मीले आफ्नै जेठाजुलाई दिएको अनुदानको बोका भने अहिले छैन । मैनीमा रहेको उनको जेठाजुको घरमा पुग्दा सो बोका भने काटेर खाएको पाइएको छ । अनुदानको बोका केही समयअगाडि बिरामी भएको भन्दै काटेर बिक्री गरिएको एक स्थानीय महिलाले बताइन् । बमर घरमा नभएकाले उनकी श्रीमतिले पनि काटेर बिक्री गरेको स्वीकार गरेकी छन् । तर, यसबारे भने अन्यलाई थाहा नै नभएको बताएका छन् । लक्ष्मी भने आफूले बोको काटेको भए पनि अर्कोलाई त्यसको ठाउँमा पालेको बताउँछिन् ।