इटहरीः सुनसरीको रामधुनी नगरपालिकाले पहिलो चरणको कोरोना फैलिएकै समयमा निर्माण सुरु गरेको अस्थायी कोभिड अस्पताल अझै सञ्चालनमा आउन सकेको छैन ।
प्रदेश सरकारको १० लाख रुपैयाँको लागतमा एक एम.बी.बी.एस डाक्टरको सुविधासहितको सेवा सञ्चालन गर्ने भन्दै निर्माण गरिएको १० बेडको अस्थायी कोभिड अस्पताल सञ्चालनमा नआएको हो । केही समयअगाडि धुमधामका साथ उद्घाटन गरिएको सो अस्थायी अस्पतालमा अन्य कर्मचारी भए पनि डाक्टर नआएकाले आफूहरुले अस्पताल सञ्चालन गर्न नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने र उपमेयर सविनाकुमारी चौधरीको भनाइ छ । ‘त्यहाँचाहिँ कोभिडबाट सिकिस्त भएका बिरामीहरु आउने र विशेषज्ञ डाक्टर हुनुपर्ने तर अहिले डाक्टर नै आएका छैनन्’, प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने, ‘हामीले पटक पटक सूचना जारी गरेका छौँ तर कोही पनि डाक्टर हामीकहाँ सम्पर्कमा आउनुभएको छैन ।’
डाक्टर नआएकै कारण आफूहरुले सो अस्पताल सञ्चालन गर्न नसकेको उनको भनाइ छ । अस्पताल सञ्चालनमा नआए पनि नगरवासीको लागि सामान्य रुपमा ज्वरो नाप्ने र आवश्यक परेमा परीक्षणको लागि सहजीकरण गर्दै आएको तथा डाक्टरद्वारा परामर्श पनि दिँदै आएको उनले दाबी गरेका छन् । प्रदेशबाट आएको बजेटबाट नगरपालिकाले १० वडा बेड खरिद गरेको छ । अहिले ती बेड पनि अन्य बिरामीका लागि प्रयोग गरिएको छ त कतिपय भने प्रयोगविहीन छन् । केही बेडमा भने स्वास्थ्यकर्मीका औजार तथा अन्य सामग्री राखिएका छन् । यता उपमेयर चौधरीले भने प्राविधि कठिनाइका कारण अस्पताल सञ्चालन गर्न नसकेको बताइन् । ‘त्यसमा हामीलाई प्राविधिक कठिनाइ छ’, उपमेयर चौधरीले भनिन्, ‘आइसोलेसनभन्दा यो कोभिड अस्पताल सञ्चालन गर्न कठिनाइ हुँदो रहेछ ।’ आफूहरुले सञ्चालन गर्दै गर्दा अस्पतालहरुबाट एउटा स्थानीय तहले १० बेडको अस्पताल चलाउन गाह्रो हुने प्रतिक्रिया आएकाले पनि अस्पताल सञ्चालनमा ढिलाइ भइरहेको उनको भनाइ छ ।
यसका साथै डाक्टरको अभावले पनि अस्पताल सञ्चालन गर्न नसकिएको उनले बताइन् । अन्तिम पटक आवेदनका लागि प्रकाशन गरिएको सूचनाको समयावधि सकिन लागेकाले त्यसको म्याद सकेपछि सञ्चालनको विषयमा पुर्नविचार गर्ने उनले बताइन् । कोभिड अस्पताल सञ्चालनमा नआउँदा विभिन्न व्यक्ति तथा सँस्थाले दिएका अक्सिजन सिलिन्डरसहितका अन्य स्वास्थ्य उपकरणहरु प्रयोगविहीन बनेका छन् ।