बलिउडका उदाउँदो ताराको रूपमा लिइएका ३४ वर्षीय अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु सन् २०२० जुन १४ मा भएको थियो ।

सुशान्त मुम्बईको बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा झुन्डिएको अवस्थामा फेला परेका थिए । प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको भनिएको थियो । तर अनुसन्धानले गति लिन थालेसँगै मुद्दा गहिरो र जटिल हुँदै गयो । मुम्बई प्रहरी, बिहार प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई), नारकोपटक्स कन्ट्रोल ब्युरो (एनसीबी) र प्रवर्तन निदेशालय (ईडी) यी पाँच एजेन्सीहरू हुन्, जसले सुशान्त सिंह राजपूतको मृत्युका सम्बन्ध अनुसन्धान गरेका हुन् । तर हालसम्म यो आत्महत्या हो वा होइन भन्ने तथ्य पत्ता लागेको छैन । मुम्बई प्रहरीको प्रारम्भिक अनुसन्धानमा सुशान्तले आत्महत्या गरेको पत्ता लागेको थियो ।

यद्यपि सीबीआईले आजसम्म पनि उनीहरूको अनुसन्धानबाट के नतिजा पत्ता लाग्योे भनेर भनेको छैन । नारकोटिक्स कन्ट्रोल ब्युरोले यस मामलामा बलिउडमा सक्रिय लागुऔषध सिन्डिकेटको पक्षमा छानबि जारी राखेको छ । यस्तै, प्रवर्तन निदेशालयले पनि हालसम्म पैसाको दुरुपयोग र चलखेलबारे कुनै प्रमाण फेला पार्न सकेको छैन । यस्तो अवस्थामा प्रश्न उठ्छ कि, यी अनुसन्धान एजेन्सीहरूले आफ्नो अनुसन्धानलाई कुन दिशामा अगाडि बढाएका छन् ? यस अनुसन्धानमा अहिलेसम्म के प्रगति भएको छ ?

सीबीआईको अनुसन्धानको अहिलेसम्मको प्रगति
सुशान्त सिंहले आत्महत्या गरेका हुन वा हत्या भएको हो भन्ने कुराको जाँच सीबीआईले गरिरहेको छ । सीबीआईलाई यसको जिम्मा सर्वोच्च अदालतले दिएको हो । सर्वोच्चले सीबीआईलाई यसको जिम्मा दिएको १० महिना बितिसकेको छ । तर अनुसन्धानबाट के प्रमाण निस्कियो भन्ने कुरा सीबीआईले अहिलेसम्म केही जानकारी सार्वजनिक गरेको छैन । महाराष्ट्रका पूर्व गृहमन्त्री अनील देशमुख लागातार सीबीआईलाई सुशान्तको मुद्दाको अनुसन्धान रिर्पोट सार्वजनिक गर्न माग गर्दै आइरहेका छन् ।

यस विषयमा अनुसन्धान गर्न सीबीआईले एउटा समिति नै गठन गरेको छ । जसको नेतृत्व दिल्लीका अखिल भारतीय चिकितसा विज्ञान संस्थान (एआईआईएमएस)का फोरेन्सिक विभाग प्रमुख डा.सुधीर गुप्ताले गरिरहेका छन् । सीबीआईले हालसम्म यस विषयमा बलिउड अभिनेत्री तथा सुशान्तकी प्रेमिका रिया चक्रवर्ती, सुशान्तका साथी सिद्धार्थ पिठानी, सुशान्तका कुक नीरज र दीपेश सावन्तसँग बयान लिएको छ । अब सीबीआईको नयाँ निर्देशक महाराष्ट्र प्रहरीका पूर्व महानिर्देशक सुबोध कुमार जयसवाल बनेका छन् । यसअर्थमा सुशानतको मुद्दामा भएको अनुसन्धान सम्बन्धी निर्णय अब उनको हातमा छ ।

प्रवर्तन निर्देशालयको अनुसन्धान
सुशान्तको परिवारले रिया चक्रवर्तीले सुशानतको बैंक खाताबाट गोप्य रूपमा १५ करोड निकालेको आरोप लगाएको थियो । प्रवर्तन निदेशालयले यस मुद्दामा, प्रिभेन्सन अफ मनी लन्डरिङ एक्ट (पीएमएलए) अन्तर्गत अनुसन्धान सुरु गरेको थियो । रियासँग ईडीले ७ अगस्त २०२० मा सोधपुछ गरेको थियो । रियाका प्रबन्धक र सुशानको पूर्व अपार्टमेन्ट म्यानेजरलाई पनि प्रवर्तनले सोधपुछका लागि बोलाएको थियो । जसपश्चात् प्रवर्तन निदेशालायका अधिकारीहरूले, सुशान्तको बैंक खाता र रिया अनि उनको परिवारका सदस्यको बैंक खातामा कुनै लेन–देन नभएको उल्लेख गरेको थियो ।

नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को जाँच
रिया चक्रवर्तीको मोबाइल फोन जाँच गर्दा प्रवर्तन निदेशालयले उनको लागुपदार्थको बारेमा भएको कुराकानी पत्ता लागेको दाबी गरेको थियो । जसपश्चात् सुशान्तको मृत्युको मुद्दामा नारकोटिक्स कन्ट्रोल ब्युरो पनि संलग्न भएको थियो । एनसीबीले रियालाई यस मामलामा २०२० सेप्टेम्बर ८ मा पक्राउ गरेको थियो । अदालतमा पेस गरिएको आफ्नो पत्रमा एनसीबीले यसो भनेको थियो, “रियाले ड्रग्स किनेकी थिइन । उनले सुशान्तको बानी लुकाउने कोसिस गरेकी थिइन् ।”

एनसीबीले सुशान्तको मृत्युसँग सम्बन्धित लागुऔषध मुद्दामा हालसम्म ३० भन्दा बढी मानिसहरूलाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेहरूमा रियाका भाइ सोविक पनि थिए, तर सोविकलाई पछि रिहा गरियो । यस्तैमा एनसीबीले २०२१ मे २६ मा सुशान्तको फ्ल्याटमा बस्ने सिद्धार्थ पिठानीलाई पनि पक्राउ गरेको छ । सिद्धार्थको पक्राउलाई महत्वपूर्ण कदमको रूपमा लिइएको छ । किनभने सुशान्तको मृत्यु हुँदा उनकै फ्ल्याटमा बस्ने सिद्धार्थ भने गायब थिए । एनसीबीले अहिलेसम्म अभिनेत्री दिपिका पादुकोण, रकुलप्रित सिंह, सारा अली खान, श्रद्धा कपुर लगायत अभिनेत्री र अभिनेतामा अर्जुन रामपालसँग सोधपुछ गरिसकेको छ ।

मुम्बई प्रहरीले गरेको जाँचको विषय
बलिउडमा एकपछि अर्को सफलता चुमिरहेका सुशान्त सिंह राजपूतको मृत्यु एउटा हाई प्रोफाइल विषय थियो । तर, सुशान्तले कुनै सुसाइड नोट छोडेका थिएनन् । मुम्बई प्रहरीको प्रारम्भिक रिर्पोट, फरेन्सिक ल्याबबाट आएका रिर्पोटले सुशान्तको निधन ‘आत्महत्या’ले नै भएको र कुनै केमिकल वा लागुऔषध केही नभेटिएको देखाएका थिए ।

बिहार प्रहरीको अनुसन्धानलाई लिएर राजनीति
मुम्बई प्रहरीको अनुसन्धानमा प्रश्न चिन्ह उठाउँदै सुशान्तका परिवारले यसको जिम्मा बिहार प्रहरीलाई दिन माग गरेको थियो । तर सुशान्तका परिवारले मुम्बई प्रहरीमाथि गरेको आरोपले राजनीतिक मोड लियो । यो मामला बिहारको विधानसभा चुनाव हुनुभन्दा ठिक अघि उठेको थियो । स्थानीय तहदेखि राजधानीसम्म यो मुद्दा राजनीतिक आरोप—प्रत्यारोपको कारण बन्न पुग्यो । बिहार प्रहरी यस मुद्दामा अनुसन्धान गर्न मुम्बई पुग्दा उनीहरूको अनुसन्धानको अधिकारलाई लिएर प्रश्नहरू उठे ।

यस कारणले, बिहार र महाराष्ट्रबीच पनि धेरै वाकयुद्ध भयो । हुन त सुशान्त सिंह राजपूतको मृत्युको छानबिनका लागि पाँच अलग अलग एजेन्सीहरू संलग्न भइसकेका छन् । तर आजसम्म पनि उनको निधनको एक वर्ष बितिसक्दासम्म पनि सुशान्तको मृत्युको कारण रहस्य नै बनिरहेको छ । हाल सीबीआईले हेरिरहेको सुशान्तको केसमा सीबीआईको बयानका लागि उनका परिवार र प्रशंसकहरू पर्खिरहेका छन् । -बीबीसीबाट