सिक्किमः भारतको सिक्किमस्थित पश्चिम जिलाको गेजिङ बर्मेक निर्वाचन क्षेत्रअन्तर्गत बरथाङमा राज्य सरकारले मेधावी कौशल विश्वविद्यालय निर्माण गर्ने घोषणालाई स्थानीयवासीले स्वागत गरेका छन् ।
उल्लेखनीय छ, गत १४–१५ जूनको दिन सम्पन्न भएको सिक्किम विधानसभाको दुई दिवसीय बजेट सत्रमा पश्चिम र दक्षिण जिल्लामा तीन वटा विश्वविद्यालय निर्माण गर्नको निम्ति विधेयक पारित गरेको थियो । यी तीनै वटा विधेयक राज्यका शिक्षा विभाग मन्त्री केएन लेप्चाले बजेट सत्रको पहिलो दिन प्रस्तुत गरेका थिए । उक्त विधेयकमाथि बहस र मतदान भएपछि बहुमतले पारित भएको हो । यी तीन वटा विश्वविद्यालयहरूमा गेजिङ बर्मेक निर्वाचन क्षेत्रअन्तर्गत बरथाङमा सिक्किम मेधावी कौशल विश्वविद्यालय निर्माण गर्ने सरकारको योजना रहेको छ भने यसरी नै सिरिबदाममा द सिक्किम इन्टरनेसनल विश्वविद्यालय र पोकलोक कामराङमा द स्टर्न फर इन्टिग्रेटेट इन्सटीच्यूट लर्निङ एण्ड मेनेजेमेन्ट विश्वविद्यालय निर्माण गरिने भएको छ ।
पूर्व सरकारले पच्चीस वर्षसम्म गर्न नसकेको काम एसकेएम सरकारले दुई वर्षको छोटो अन्तरालमा नै गरेकोमा सर्वसाधारणले खुसी प्रकट गरेका छन् । यस क्षेत्रमा विश्वविद्यालय निर्माणपछि विकास हुनसक्ने पनि स्थानीय शिक्षित युवाहरूले सम्भावना व्यक्त गरे । यहाँका मानिसहरू आर्थिकसँगै शैक्षिक क्षेत्रमा पनि पछि परेको कारण यसले सबै क्षेत्रमा ठूलो टेवा पुग्न सक्ने उनीहरूको भनाइ रहेको छ । मुख्यमन्त्री प्रेम सिंह तामाङले बरदाङजस्तो दुर्गम क्षेत्रको विकासलाई ध्यानमा राखेर विश्वविद्यालय निर्माण गर्ने योजना बनाएकोमा उनीहरूले मुख्यमन्त्री प्रेम सिंह तामाङलगायत क्षेत्र विधायक लोकनाथ शर्मालाई पनि धन्यवाद दिँदै आभार प्रकट गरेका छन् । यसरी नै उक्त विश्वविद्यालय निर्माणको निम्ति स्थानीयहरू जमीन दान गर्न पनि तयार रहेका छन् । लगभग पचास एकड जमीन दान गर्न स्थानीयहरू तत्पर छन् । सरकारले चाहेको खण्डमा जति पनि जमीन दिन आफूहरु तयार रहेको स्थानीयले अवगत गराए ।