इटहरीः झापामा तीन ट्रक अवैध सुपारीलाई भारत तस्करी गराउने सेटिङमा १ नम्बर प्रदेशका दुई जना प्रहरी नायबमहानिरीक्षक (डीआईजी)को नाम जोडिएको छ ।

जनपद प्रहरीका डीआईजी ईश्वरबाबु कार्की र सशस्त्र प्रहरी बल १ नं. वराह वाहिनी मुख्यालय इटहरी, पकलीका डीआईजी वंशीराज दाहालले उक्त सुपारीको ट्रक भारत तस्करी गराउने काममा पैसा बुझेको आरोप छ । दुई साताअघि झापाको काकडभिट्टा क्षेत्रबाट तेस्रो मुलुकबाट भित्रिएको सुपारी भारत तस्करी गराउने काममा करिब ३० लाख रुपैयाँमा ‘डिल’ भएको जनाइएको छ । तर यो ‘डिल’ भएको सूचना र अडियो चुहिएपछि लोड भएका ट्रकहरु एकाएक गायब बनाइएका थिए । तर ३ वटा ट्रकमध्ये एक ट्रक सीमा कटाइएको र दुई ट्रक सुपारी भने काकडभिट्टा र विराटनगरको एक गोदाममा राखिएको स्रोतको दाबी छ । ३० लाखमा दुई डीआईजीले ८—८ लाख बुझेको स्रोतले बताएको छ । त्यस्तै, झापा जिल्लाको सशस्त्र र जनपद प्रहरीका जिल्ला प्रहरी प्रमुखले समेत रकम बुझेको दाबी गरिएको छ । बाँकी रकम जिल्लाका घुमुवा प्रहरी तथा केही प्रहरी कार्यालयका इन्चार्जहरुले बुझेको जनाइएको छ । 

sashastra prahari bal. apf.

झापामा सबैभन्दा ठूलो सुपारी तस्करीको सेटिङ हुने गरेको छ । दोस्रो मुलुकबाट आएको सुपारीलाई झापामा उत्पत्तिको प्रमाणपत्र दिएर मात्र विराटनगर भन्सारबाट भारत पठाउने गरिएको छ । तर हाल सेटिङ भएको तीन ट्रक भने अवैध हिसाबले नेपाली सीमाबाट भारत पुर्याउने योजना बनाइएको थियो । नेपालमै उत्पत्तिको प्रमाणपत्र मिलाएपनि भन्सार प्रकृयाको लागि आवश्यक कागजात मिलाउन झन्झट हुने भएकाले पैसा खर्च गरेर भएपनि सुपारी व्यापारीहरु यी ट्रकहरु सुपारी भारत पुर्याउने योजनामा थिए । प्रहरीले पैसा बुझेपछि ट्रक कटाउने उपयुक्त समय र नाकाको पर्खाइमा रहेको स्रोत बताउँछ । प्रहरीलाई पैसा सेटिङ गराउने व्यक्ति भने झापाका प्रदीप मित्तल नाम गरेका व्यवसायी हुन् । उनी आफैँ पनि सुपारी व्यवसायी हुन । झापाका ६ जना व्यवसायीको उक्त सुपारी तस्करी गराउने कामको संयोजन मित्तलले गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार उक्त सुपारी झापाका राजन खड्का, श्याम थापा लगायतको समूहको भएको बताइएको छ । मित्तलले इलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रहरी निरीक्षक होम अधिकारी, जिल्ला प्रहरी कार्यालय झापाका एक घुमुवा र सशस्त्र प्रहरीका अर्का एक घुमुवामार्फत् यो कामको लागि ‘डिल’ गरेको स्रोत बताउँछ ।

nepal-police

होम अधिकारी र प्रहरीका घुमुवा भने डीआईजी कार्कीका खास मान्छे भएको स्रोत बताउँछ । गृह मन्त्रालयले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रहरी नायबमहानिरीक्षक (डीआईजी) हरुको सरुवाको तयारी गरिरहेको बेला १ नं. प्रदेश प्रहरीका डीआईजी कार्की र दाहालको नाममा यस्तो आरोप लागेको हो । यता, दुवै डीआईजीले सुपारी तस्करीको विषयमा आफूहरुको कुनै संलग्नता नरहेको स्पष्ट पारे । जनपदका डीआईजी ईश्वरबाबु कार्कीले यो विषयमा हल्ला सुनेपनि यसमा आफ्नो नाम जोड्नुपर्ने कुनै आवश्यकता नरहेको बताए । ‘हल्ला आएका छन् तर यसमा सत्यता छैन ।’ उनले भने । यस्तै सशस्त्र प्रहरी बलको इटहरीको पकलीस्थित १ नम्बर वराह वाहिनी मुख्यालयका डीआईजी वंशीराज दाहालले पनि सुपारी तस्करीको नाममा आफ्नो नाम बदनाम गर्ने नियतले हल्ला फिजाइएको दाबी गरे ।