इटहरीः नेपाली कांग्रेस मोरङको चार नम्बर क्षेत्रीय कार्यसमितिको कार्यालयमा आफ्नै विद्यार्थी संगठनका कार्यकर्ताहरुले तालाबन्दी गरिदिएका छन् ।
पार्टीको कृयाशील सदस्यता वितरणमा अनियमितता गरी आफ्ना मान्छेलाई मात्र अवसर दिइएको भन्दै पार्टीसम्बद्ध भ्रातृ संगठन नेपाल विद्यार्थी संघले क्षेत्रीय कार्यसमितिको कार्यालयमा तालाबन्दी गरेको हो । सदस्यता वितरण भेदभाव गरिएपछि आक्रोशित नेवि संघसम्बद्ध विद्यार्थी नेताहरुले विज्ञप्ति जारी गरी सोप्रति असन्तुष्टि जनाएका छन् । नेवि संघ पूर्वाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पस एकाई सभापति पाश्चर घिमिरे र इस्टर्न इन्जिनियरिङ कलेज एकाई सभापति मिलन श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा तानाशाही ढङ्गले वडा सभापतिमार्फत् सिफारिस गरिएका उमेद्वारलाई सदस्यता दिनेगरी प्रस्तावित नामावली प्रकाशन गरिएकोप्रति आफूहरुको ध्यानाकर्षण भएको उल्लेख छ ।
मोरङको क्षेत्र नम्बर ४ का केही वडा, विराटनगर महानगरपालिका ३ का साथै देशैभरका नवआगन्तुक युवाहरुलाई कृयाशील सदस्यता दिइनुपर्ने आन्दोलनरत पक्षको माग छ । माग पूरा नभए सशक्त आन्दोलनमा उत्रने नेवि संघले जनाएको छ ।