इटहरीः प्रेमिकाको हत्या गरेको आरोपमा प्रहरीले कञ्चनपुरको महेन्द्रनगरबाट मोरङको रतुवामाई नगरपालिका ६ स्थित कपरसुका एक जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा ३१ वर्षीय सुफल हस्दा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईका अनुसार अभियुक्त हस्दामाथि जिल्लको कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ३० वर्षीया सरिता सोरेनको हत्या गरेको आरोप छ । वैशाख १७ गते आफूलाई भेट्न आएकी प्रेमिका सोरेनले विवाहको प्रस्ताव गरेकोमा सो प्रस्ताव अस्वीकार गरेका अभियुक्त सुफलले सोही दिन घाँटी थिचेर प्रेमिका सरिताको हत्या गरेको अनुसन्धानले देखाएको प्रवक्ता राईको भनाइ छ । मृतक महिला र अभियुक्तबीच ६ महिनादेखि प्रेम सम्बन्ध रहेको बताउँदै उनले मृतक महिला एकल महिला रहेको र उनको एक सन्तानसमेत रहको तथा अभियुक्त सोरेनका दुई श्रीमति र तीन सन्तान रहेको पनि प्रष्ट पारे ।

मृतक महिलाका पति र अभियुक्त सोरेनबीच मीत्रता रहेकोमा महिलाका पतिको मृत्युपछि अभियुक्त सोरेनले झुठो नाटक गरेर महिलालाई प्रेमजालमा पारेको प्रहरी अनुसन्धानले देखाएको छ । १७ जेठमा हत्या गरिएकी महिलाको शव दुई दिनपछि १९ गते रतुवामाई–६ स्थित मकैबारीमा बीभत्स अवस्थामा फेला परेको थियो । महिलाका हत्या गरी फरार रहेका सुफल भारततर्फ जाने योजनामा रहेकोमा त्यसअघि नै जिप्रका मोरङका प्रहरी नायबउपरीक्षक (डीएसपी) मञ्जिल मुकारुङ नेतृत्वको टोलीद्वारा पक्राउ परेका हुन् । पक्राउ परेका अभियुक्तउपर कर्तव्य ज्यान मुद्दामा कारबाही चलाइने प्रहरीले जनाएको छ ।