उदयपुरः उदयपुरको त्रियुगा नगरपालिकाका एक जना गोली र अमेरिकन पेस्तोलसहित पक्राउ परेका छन् ।
त्रियुगा नगरपालिका–३ मोतीगडाका ५० वर्षीय परशुराम चौधरी नौ राउण्डको अमेरिकन पेस्तोल र पाँच राउन्ड गोलीसहित पक्राउ परेका हुन् । गएराति त्रियुगा–१२ गाईघाटको त्रियुगा बसपार्कस्थित चौधरीको कान्छी श्रीमती श्यामकुमारी चौधरीको घरबाट परशुरामलाई प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले बताए । परशुराम पहिला २०६० देखि यता २०७७ सम्म पूर्व नेकपा (माओवादी केन्द्र)का जिल्ला सदस्य भएका कारण द्वन्द्वकालको हतियार लुकाएर राखेको र उक्त हतियार देखाएर कतिपयलाई गैरकानूनी रूपमा चन्दा असुल्ने गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विसं २०७७ देखि उनले पार्टी परिवर्तन गरेर सङ्घीय समाजवादी पार्टीको जिल्ला सदस्य रहेको खुल्नमा आएको प्रहरीले बताएको छ । अवैध पेस्तोल तथा गोलीसहित उनको साथबाट अखिल नेपाल ट्रेड युनियन महासङ्घ लेखिएको सहयोग रसिद आठ थान, नेकपा (माओवादी केन्द्र) लेखिएको रसिद तीन थान र अखिल नेपाल निर्माण मजदुर सङ्घ लेखिएको रसिद तथा पत्र ८५ थानसमेत प्रहरीले बरामद गरेको बताइएको छ । -रासस