धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २० जना कोरोना सङ्क्रमितहरूको जटिल प्रकृतिको शल्यक्रिया भएको छ ।
कोरोना महामारीको दोस्रो लहरपछि एक महिनामा २० जनाको जटिल शल्यक्रिया भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर सुरु भएयता गत वैशाख २७ गतेदेखि जेठ अन्तिमसम्म प्रतिष्ठानको कोभिड अस्पतालमा २० वटा शल्यक्रिया भएको छ । प्रतिष्ठानका न्यूरो सर्जन डा. आलोक दाहाललगायत टोलीले तीनवटा न्यूरोसम्बन्धी जटिल शल्यक्रिया गरेको छ । टोलीले अचेत अवस्थामा आएका, आँखा खोल्न नसकेका, टाउकोमा रगत जमेका र हातखुट्टा नचलेका बिरामीको सफल शल्यक्रिया गरेको उनले जानकारी दिए ।
उनका अनुसार जनरल सर्जरीबाट प्रा.डा. राकेश गुप्ता, डा. सुरेशप्रसाद साह, डा. निर्मल साह, डा. रुपेशप्रसाद साह, डा. भवानी खनाल, डा. विजय श्रेष्ठलगायत चिकित्सक टोलीले सातवटा जटिल किसिमका शल्यक्रिया गरेका छन् । तीमध्ये चारवटा सानो आन्द्राको, दुईवटा एपेन्डिक्सको र एउटा ठूलो आन्द्राको शल्यक्रिया भएको सहप्रवक्ता डा. पोखरेलले जानकारी दिए । यसैगरी प्रतिष्ठानका कार्डियो भास्कुलर सर्जन डा. लोकेश शेखर जैसवाल तथा जेनेरल सर्जन डा. सुरेशप्रसाद साहको टोलीले १२ इन्च लामो रडले करङको हाडलाई छेडेर फोक्सो र मुटुमा चोट पु¥याएका सङ्क्रमित बिरामीको पनि जटिल शल्यक्रिया गरेको थियो ।
त्यसैगरी प्रतिष्ठानको नाक, कान, घाँटी विभागका डा. शङ्करप्रसाद साह र डा. ऋषिराज साहको टोलीले एक जना सङ्क्रमित बिरामीको घाँटीमा अड्किएको हड्डी सफलतापूर्वक निकालेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार गाइनो विभागका चिकित्सकले सङ्क्रमित बिरामीको आठवटा शल्यक्रियामार्फत डेलिभरी गरिएको थियो भने नौवटा नर्मल डेलिभरी गरिएको थियो । तीमध्ये पाँचवटा डा. दिप्ती दास, दुईवटा डा. मदन खड्का र एउटा डा. मनोज साहले गरेका थिए । -रासस