ताप्लेजुङः अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग र मूल्य वृद्धि भए पनि ताप्लेजुङका किसान र स्थानीय व्यापारीले यसको फाइदा लिन सकेका छैनन् ।
विगत केही वर्षदेखि अलैँचीको मूल्यमा निरन्तर घट्ने क्रममा थियो । यस वर्ष पनि अलैँची कारोबारको समयमा खासै मूल्य नआएको अर्थात प्रतिमन (४० किलोग्राम) २२ देखि २५ हजार रुपैयाँसम्म भएको थियो । पछिल्लो चार÷पाँच वर्षयता मूल्य बढ्नेभन्दा पनि निरन्तर घट्ने क्रम रहेकाले अलैँची उत्पादक किसान तथा स्थानीय व्यापारीले सिजनमा चलेको मूल्यमै खरिदबिक्री गरिसकेकाले हालको मूल्य वृद्धिको फाइदा लिनबाट उनीहरु बञ्चित भएका हुन् । अहिले अलैँचीको मूल्य वृद्धि भएर प्रतिमन ३० देखि ३२ हजारसम्म पुगेको छ । मूल्य वृद्धि भए पनि त्यसको फाइदा लिन नपाएको फुङ्लिङ बजारका स्थानीय व्यापारी भद्र रेग्मीले बताए । पहिले सिजनमै अलैँचीको कारोबार गरिसकेकाले अहिले बेमौसममा मूल्य बढेका कारण त्यो फाइदा लिन नपाएको रेग्मीको भनाइ छ ।
यस्तै, फुङ्लिङ बजारकै अलैँची व्यवसायी दिनेश अधिकारीले पनि वृद्धि भएको मूल्यको फाइदा किसान तथा स्थानीय व्यवसायी दुवैले लिन नपाएको बताए । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्षसमेत रहेका व्यवसायी अधिकारीका अनुसार कारोबारको मौसममा आएको मूल्यमा सबै अलैँची बिक्री गरिसकेकाले मूल्य वृद्धिको फाइदा लिनबाट बञ्चित हुनुपरेको हो । सुरुका वर्षमा भने किसान तथा स्थानीय व्यापारी दुवैले राम्रो मूल्यको पर्खाइमा अलैँची पछिसम्म कारोबार नगरी थन्क्याएर राख्ने गर्दथे । पछिल्लो समयमा भने मूल्य बढ्नेभन्दा पनि निरन्तर घट्दै जाने हुँदा सुरुमै कारोबार गर्ने गरेको स्थानीय व्यवसायी बताउँछन् । ताप्लेजुङमा भने चार हजार २५८ हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ । उक्त खेतीबाट यसवर्ष मात्र दुई हजार ९६० मेट्रिकटन अलैँची उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्र पाँचथरको तथ्याङ्कअनुसार यस वर्ष जिल्लामा गत वर्षभन्दा करिब १० देखि १५ प्रतिशतले अलैँची उत्पादन वृद्धि भएको हो । -रासस