इटहरीः सुनसरीको इटहरी निवासी नायक तथा मोडल माधव केसीले असहाय बालबालिकासँग आफ्नो ४२ औँ जन्मदिन मनाएका छन् ।
इटहरी ४ स्थित निःसहाय बालबालिका सेवा आश्रममा आश्रित ४१ जना बालबालिकाबीच केक काटेर सामूहिक रुपमा जन्मदिन मनाएका कलाकार केसीले आश्रमलाई पाँच हजार थान मास्क र सेनिटाइजर उपहारस्वरुप प्रदान गरेका थिए । झन्डै एक दर्जन चलचित्र तथा तीन दर्जनभन्दा बढी म्युजिक भिडियो निर्माण गरेका केसी सामाजिक कार्यमा समेत सक्रिय रहेका छन् । कलाकार केसीले गत वर्षको लकडाउनको अवधिमा पनि विपन्न वर्गका लागि निःशुल्क मास्क तथा सेनिटाइजर वितरण गर्नुका साथै खानाको अभावमा संकटमा परेका सामुदायिक कुकुरलाई खानासमेत वितरण गरेका थिए ।
यसका अतिरिक्त कलाकार केसीले केही समयअघि प्रेस चौतारी नेपालमार्फत् नेपाल पत्रकार महासंघलाई मास्क र सेनिटाइजर प्रदान गरेका थिए । जन्मदिन मनाउन आश्रममा पुगेका कलाकार केसीलाई आश्रमकी सञ्चालक गीता गौतमले खादा ओढाएर स्वागत गरेकी थिइन् । सोही क्रममा सञ्चालक गौतमले आश्रममा साना बालबालिकालाई आश्रय दिइएकोमा उनीहरुलाई खुवाउनका लागि आवश्यक पर्ने लेक्टोजिन, सेर्लेक्सजस्ता पौष्टिक खानाको समेत अभाव रहेको बताएकी थिइन् । कुनै दाता भए अवोध बालबालिकाको खाद्य आवश्यकता पूर्ति हुने उनको अपेक्षा छ । साथै, बालबालिकाको बढ्दो संख्यालाई व्यवस्थित गर्न स्थान अभाव भइरहेकोमा सोही अवस्थालाई मध्यनजर गर्दै भवन विस्तार गर्न सुरु गरिएकोमा स्रोतको अभावमा निर्माणले गति लिन नसकेको उनको भनाइ छ । भवन निर्माणका लागि आवश्यक कच्चा पदार्थ वा आर्थिक स्रोत उपलब्ध गराइदिन उनले अपिल गरेकी छन् ।