इटहरीः सुनसरीको रामधुनी नगरपालकाले आइसालेसन केन्द्र नबनाउने भएको छ ।
यो नगरसँगै प्रत्यक्ष सीमा जोडिएका भोक्रहानरसिंंह गाउँपालिका, वराहक्षेत्र नगरपालिका, इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिका सबैले आइसोलेसन केन्द्र बनाए पनि रामधुनीले भने अहिलेसम्म बनाएको छैन । यस विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने ‘संक्रमित आएपछि बनाउने’ प्रतिक्रिया दिन्छन् । ‘हामीले ३० बेडको क्वारेन्टिन सञ्चालन गरेका छौँ । तर, अहिलेसम्म कोही म बस्छु भनेर आउनुभएको छैन’, उनले भने । उनले ३० बेडमा केही महिलाका लागि र केहि पुरुषका लागि छुट्याइएको बताए ।
हामी नगरले ‘कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र झुम्काको तालिम भवन प्रशिक्षार्थी आवास’ मा सञ्चालन गरेको भनिएको क्वारेन्टीनमा पुग्यौँ । त्यहाँ न्यौपानेले भने बमोजिमको केही पाउन सकेनौँ । उनले ३० बेडको क्वारेन्टिन भने पनि त्यहाँ २० बेड मात्र सञ्चालन गरेको पाइएको छ । यसका साथै यहाँ क्वारेन्टिन सञ्चालनका लागि आवश्यक पूर्वाधार जडान गर्न पनि सकेको पाएनौँ । त्यहाँ बेडबाहेक अरु केहीको पनि प्रबन्ध गरेको पाइँदैन । यता उपमेर सविनाकुमारी चौधरीले नगरले आइसालेसेन सञ्चालन गर्न नसकेको स्वीकार गरेकी छन् । अहिलेको प्राथमिकता आइसोलेसन भएको र आफूहरुले स्तरोन्नति गर्न नसकेको उनको भनाइ छ ।
यसै कारण आइसोलेसन वा अहिले भइरेको क्वारेन्टिन पनि सञ्चालन गर्न नसकेको उनले बताइन् । ‘अहिले कोभिड भएका व्यक्तिहरु बढी चाहिँ घरमै बस्न इछुक भएकाले हामीले यो क्वारेन्टिनलाई सञ्चालन गर्न सकेनौँ’, उनले भनिन् । यता आइसोलेसन सञ्चालन गर्न भनी विभिन्न व्यक्ति तथा संघ संस्थाले दिएका अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य पूर्वाधारहरु प्रयोगविहिन बनेका छन् ।