बेलबारीः लामो समयदेखि मानसिक असन्तुलनको सिकार बनेकी मोरङको बेलबारी नगरपालिका ९ की एक युवतिको सोमबार उद्धार गरिएको छ ।
बेलबारी ९ स्थायी बसोबास गर्दै आएकी शलोचना राजजंशी साङ्लोमा बाँधिएको खबर सुनेपछि उपमेयर, वडा नं ९ का वडाध्यक्ष स्थानीय समाजसेवीहरुसहित नगरपालिकाको टोली उक्त स्थानमा पुगेको थियो । मानसिक रोगी भएकै कारण शलोचना घरमा परिवारसँग नबस्ने, गाउँ गाउँ घुम्ने, खासै बोल्न नचाहने, बोलिहाल्दा पनि झर्केर बोल्ने, बालबालिकालाई कुटपिट गर्ने, औषधि नखाने समस्याका कारण परिवार आजित भएको उनका बुबा दरपदचन्द्र राजवंशीले बताए । कमजोर आर्थिक अवस्था, श्रीमान दरपद राजवंशी ७५ वर्ष पुगिसकेका, आफू पनि वृद्धावस्थामा भएकोले आफ्नै स्याहार गर्न नसक्ने अवस्थामा जवान छोरीको स्याहार सुसार गर्न ज्यादै कठिन भएको शोलोचनाकी आमा दाखादेवी राजवंशीले बताइन् ।
एकातिर कमजोर आर्थिक अवस्था, अर्कोतिर आफ्नै नगरपालिकाभित्र युवति साङ्लोभित्र बाँधिएको खबरले आफूलाई असाध्यै दुःखी बनाएकोले मानसिक रोगबाट पीडित शोलोचनालाई उद्धार गरी तत्काल इटहरीस्थित मायाघरको संरक्षकत्वमा राखिएको बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बताइन् । जवान छोरीको दुर्दशापूर्ण अवस्थाले आफूहरु चिन्तित भइरहेको र आफूहरु बेसहाराजस्तै भइरहेको बेला जनप्रतिनिधिहरु घरमै आएर छोरीको उद्धार गरेकोमा राजबंशी दम्पतिले उपमेयर ढाकाकुमारी पराजुली र वडाध्यक्ष नगेन्द्र खड्कालाई धन्यवाद दिए । उद्धार कार्यमा इ प्र का बेलबारी समाजसेवी राजेन राई र स्थानीयहरुले सहयोग गरेका थिए ।