धरानः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत फ्याकल्टी, जेआर तथा विद्यार्थीहरुले विरोध र्याली निकालेका छन् ।

बीपी प्रतिष्ठानमा अनियमितताबारे अख्तियारको ध्यानाकर्षण गराउँदा फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा.विष्णु पोख्रेललाई स्पष्टिकरण सोधिएपछि हिजो मंगलबारदेखि चिकित्सक तथा विद्यार्थीहरु आन्दोलनमा छन् । पानी परिरहेको कारण चिकित्सकहरुले आज पानीमै छाता ओढेर र्याली निकालेका हुन् । उपकुलपति कार्यालयअघि भेला भएका चिकित्सक तथा विद्यार्थीहरुले प्रतिष्ठानको मेन गेट, बुद्धचोक, शिवमार्ग हुदै डेन्टल कलेज पुगेर पुनः उपकुलपति कार्यालयअघि पुगेका थिए ।

मौसम अनुकुल भएमा भोलि बिहीबार भानु चोकसम्म र्याली निकाल्ने संयुक्त संघर्ष समितिले जनाएको छ । आन्दोलनरत चिकित्सकहरुले डा.पोख्रेललाई सोधेको स्पष्टिकरण फिर्ता लिन र सार्वजनिक माफी माग्न उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई दिएको २४ घण्टे अल्टिमेटम सकिसकेको छ । अझै पनि माग पूरा नभए आन्दोलनको घेरा बढ्दै जाने र भविष्यमा कामबाट अलग हुनुपर्ने स्थिति पनि आउन सक्ने बिरोधको क्रममा जनाइएको छ ।