इटहरीः कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले नेपाल भारत सीमा सील गरेको भएपनि सुनसरीको सीमावर्ति नाकाबाट भने मदिराको अवैध निकासी निर्वाध रुपमा भइरहेको छ ।
सीमावर्ति क्षेत्रमा चौबीसै घण्टा सुरक्षाकर्मीको उपस्थितिका बाबजुद रातको समयमा सुनसरीको कप्तानगञ्ज नाकाबाट अवैध रुपमा मदिरा तस्करी भइरहेको स्रोतले बताएको छ । स्रोतका अनुसार विराटनगरबाट भित्रि बाटो हुँदै ल्याइएका मदिरा ट्याक्टरमार्फत् भारतीय बजारसम्म पुर्याउने गिरोह नाकामा सक्रिय रहेको छ । तस्करीको काम विराटनगर घर भएका गोविन्द घिमिरे, श्रवण चौधरीलगायतका व्यापारीहरुले गर्ने गरेकोमा मतियारका रुपमा स्थानीय महेश्वरी, बद्री र सीताराम भनिने एक व्यक्तिले प्रहरीसँग मिलोमतो गरी मदिरावाहक सवारी सीमापारि पुर्याउने गरेको स्रोतको भनाइ छ ।
प्रहरीले रातको समयमा सडकमा हिँड्ने किसानलाई त्रास देखाई हिँडडुल गर्न रोकी बाटो खाली गरी मदिरासहितका ट्याक्टर भारतर्फ पठाउने माहौल मिलाउने गरेको स्थानीय रामरुप मेहताले बताए । सुरक्षाकर्मीले भारततर्फ मदिरा तस्करीको भिडियो वा फोटो भाइरल हुने डरले स्थानीय किसानको मोबाइलसमेत नियन्त्रणमा लिई बिहान मात्र फिर्ता गर्ने गरेको अर्का स्थानीय रमेश साहले बताए । उनका अनुसार रातको समयमा करिब चार घण्टासम्म तस्करीका लािग मदिरका बोकेका सवारीको लर्को भारततर्फ जाने गरेको छ ।