इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी चालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा को ३५ प ५९७१ नम्बरको मोटरसाइकलका चालक नवलपरासी गैंगाकोट–९ घर भइ मोरङको सुन्दरहरैँचा–८ मा बस्दै आएका २५ वर्षीय गोकुल भनिने यामबहादुर थापा रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार मोटरसाइकल अन टेस्ट लोडरसँग ठोक्किएपछि गम्भीर घाइते भएका थापालाई उपचारार्थ विराटनगरस्थित कोसी अस्पताल पठाइएकोमा उपचारका क्रममा राति ८ः५५ बजे उनको ज्यान गएको हो । दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार सुन्दरहरैँचा–६ गछियाका ३० वर्षीय रूपक खड्का घाइते सामान्य घाइते भएको डीएसपी तिम्सिनाले बताए ।

उनका अनुसार लोडर चालक मोरङको कटहरी गाउँपालिका–७ का ३३ वर्षीय सरोज गौतमलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । प्रारम्भिक अनुसन्धानबाट लोडर चालकका साथमा सवारी चालक अनुमतिपत्र नभएको तथा मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।