धरान: क्यान्सर रोगबाट ग्रसित भक्तपुर क्यान्सर हस्पिटलमा उपचाररत तेह्रथुमको फेदाप गाउँपालिका जलजले ५ निवासी ६३ वर्षीय विष्णुकुमार सिङ्गकलाई “सिङ्गक समाज हङकङ“को पहलमा आर्थिक सहयोग गरिएको छ ।

हङकङमा रहेका विभिन्न व्यक्तिहरुबाट आर्थिक संकलन गर्दै सिङ्गक समाजले तीन लाख ५० हजार ६ सय पच्चीस रुपैयाँ सिंगक फाउण्डेसन नेपाललाई पठाइदिएको फाउन्डेसनकी अध्यक्ष गीतकार तथा समाजसेवी मीना सिङ्गकले जानकारी दिइन् । सामान्य किसान परिवारमा आफ्नो जिवनयापन गर्दै आएका विष्णुकुमारको उपचारमा निकै समस्या भएपछि भक्तपुर क्यान्सर अस्पतालले सहयोगको याचनासहित सिफारिससमेत गरिदिएको थियो । अस्पतालले नेपाल सरकारले प्रदान गर्ने विपन्न राहत कोषबाट रकम प्रदान गर्नको लागि सम्बन्धित गाउँपालिका र नगरपालिकाले सिफारिससमेत गरिदिएको छ ।

सोही अनुसार सहयोग संकलन अभियान सञ्चालन गरिएको सामाजिक अभियन्ता सिङ्गकले बताइन् । मिनाका अनुसार विष्णुको प्रत्येक किमो थेरापीमा ६५ हजार नेपाली रुपैयाँ लागे र यो उनको लागि उनको सामथ्र्यभन्दा धेरै ठूलो रकम भएकाले उनको परिवारबाट सहयोगको अपिल गरिएको हो । आफ्नो जेठी श्रीमति गुमाएका विष्णुले केही समयपछि दोस्रो बिहे गरेर खेती किसानी काम गरेर जीवन गुजारा गर्दै आएका छन् ।