धरानः सुनसरीको धरानमा गोर्खा सेमेट्री ट्रस्ट हङकङले धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा सञ्चालनमा रहेको आइसोलेसन सेन्टरलाई पाँच थान पोर्टेवल भेन्टिलेटर उपलब्ध गराएको छ ।

हरियाली आइसोलेसन सेन्टर परिषरमा आज एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय खेलकुद परिषद्का निर्देशकसमेत रहेका नेपालस्थित गोर्खा सेमेट्री ट्रस्टका अध्यक्ष महेन्द्र राईले धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । धरान १९ स्थित हरियाली सामुदायिक भवनको आवास गृहमा उपमहानगरपालिकाले २५ शैयाको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ । जसमा नेपाल पत्रकार महासंघ सुनसरीको समेत समन्वय रहेको छ । मेयर तिलक राईले कोभिड १९ संक्रमित बिरामी राख्नका लागि हरियालीमा आइसोलेसन सेन्टर सञ्चालन गरिएको बताएका छन् । मेयर राईले कोरोनासँग लडन साथ सहयोगको भावना जरुरी रहेको बताउँदै गत वर्षको तुलनामा यसवर्ष मानिसहरुमा डर त्रास कम भएको बताए । धरानको आइसोलेसन सेन्टरलाई गोर्खा सेमेट्री ट्रस्ट हङकङले अत्यन्तै महत्वपूर्ण सामग्री सहयोग गरेको भन्दै मेयर राईले धन्यवाद प्रकट व्यक्त गरे ।

198321095_4480010388730102_3265905590427688094_n

 

अहिले धरान उपमहानगरपालिकामा कोभिड १९ सम्बन्धी सम्पूर्ण कुराहरुमा सबैको सहकार्य रहेको उनले जानकारी दिए । साथै, मेयर राईले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र सञ्चालनमा रहेको कोभिड अस्पतालबाहिर बिरामीको आफन्तका लागि कुरुवा घर निर्माण गरिएको बताउँदै हस्तान्तरण गर्न बाँकी रहेको सुनाए । उपमहानगरपालिकाको संयोजनमा ३२ लाखमा निर्माण गरिएको कुरुवा घर हस्तान्तरण गर्ने तयारी भइरहेको मेयर राईले उल्लेख गरे । वीपी प्रतिष्ठानसँग उपमहानगरपालिको सहकार्य रहेको बताउँदै मेयर राईले भने, “भोलिकोे दिनमा आइसोलेसन सेन्टरमा भेन्टिलेटरको आवश्यक परेन, बीपीको कोभिड अस्पतालमा बिरामीलाई आवश्यक पर्यो भने हामिले त्यहाँ पनि हस्तान्तरण गर्न सक्छौं ।” नेपालस्थित गोर्खा सेमेट्री ट्रस्टका अध्यक्ष महेन्द्र राईले भेन्टिलेटर अभाव भइरहेको बेला ट्रस्टले आर्थिक संकलन गरेर देशभरका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरहरुमा पोर्टेवल भेन्टिलेटर वितरण गरेको जानकारी दिए ।

195753718_512853173176478_6677485597047016691_n

गोर्खा सेमेट्री ट्रस्ट हङकङले नेपाल सरकारलाई पहिलो चरणमा ५० थान पोर्टेवल भेन्टिलेटर सहयोग गरेको र आवश्यक परेका अस्पताल तथा आइसोलेसन सेन्टरहरुमा गोर्खा सेमेट्री ट्रष्ट नेपालले आफैँ वितरण गर्न थालेको अध्यक्ष राईले बताए । सोही अभियानअन्तर्गत धरानको आइसोलेसन सेन्टरलाई पाँच थान पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरिएको अध्यक्ष राईले जानकारी दिए । यसैगरी, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले धरान उपमहानगरपालिका र पत्रकार महासंघ सुनसरीको सहकार्यमा सञ्चालन भएको आइसोलेसन सेन्टरमा उपमहानगरपालिकाको महत्वपूर्ण भूमिका रहेको बताउँदै उपमहानगरपालिकालाई धन्यवाद दिए । कोभिड १९ को दोश्रो लहरसँग जुध्नका लागि गोर्खा सेमेट्री ट्रस्ट हङकङले आइसोलेसन सेन्टरलाई भेन्टिलेटर सहयोग गरेको बताउँदै प्रशंसा गरे । कार्यक्रममा सोही वडाका वडाध्यक्ष पूर्ण लिम्बु, वडा नं. १८ का वडाध्यक्ष प्रवीण राई (नरेन्द्र), वडा नं. २ का वडाध्यक्ष माधव गोविन्द श्रेष्ठ, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता लगायतको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गरिएको थियो ।