इटहरीः प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा कोराना महामारी नियन्त्रणका लागि ४४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
कोरोना महामारी प्रदेशभर तिव्र गतिमा विस्तार भइरहेको पृष्ठभूमिमा आएको बजेटले यसको नियन्त्रणलाई विशेष प्राथमिकतामा राखेको हो । प्रदेशभरका स्वास्थ्य संरचनालाई सुदृढ बनाई महामारीविरुद्ध लड्ने प्रदेश सरकारको योजना रहेको छ । यसका लागि कोरोना परीक्षण, पहिचान र उपचारको व्यवस्था संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा गरिने भएको छ । प्रदेशभरका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने पनि बजेटमा उल्लेख छ । यसैगरी, कोरोना महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा रहेर कार्य गर्ने राष्ट्रसेवक कर्मचारीका लागि अतिरिक्त भत्ताको व्यवस्थासमेत बजेटमा सुनिश्चित गरिएको छ ।