धरान /  बाल प्रतिभाहरूको खोजी गरेर धरानको रंगमञ्चलाई थप समृद्ध बनाउने उद्देश्यले एक दिवसीय अन्तरविद्यालयीय नाटक प्रतियोगिता हुने भएको छ ।
धरान प्रज्ञा प्रतिष्ठानले सोमबार पत्रकार सम्मेलन गर्दै असार ८ गते सभागृहमा नाटक महोत्सव तथा प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । प्रतियोगितामा धरानका ४ वटा सामुदायिक र ९ वटा संस्थागत विद्यालयहरूले भाग लिएको कार्यक्रमका संयोजक एवं प्रतिष्ठानका सदस्य गोपाल देवानले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागी विद्यालयले १५ मिनेटको एउटा एकांकी नाटक (जसलाई प्रेक्षिका भनिन्छ) प्रस्तुत गर्नेछ । ‘नाटक प्रतियोगिताले बिस्तारै जाग्दै गरेको धरानको रंगमञ्चलाई अघि बढाउन नयाँ प्रतिभाहरू जन्माउने आशा लिएका छौं,’ उनले भने ।
महोत्सवकै रूपमा आयोजना गरिने नाटक प्रतियोगिता आगामी वर्षहरूमा पनि थप व्यवस्थित र बृहत रूपमा गरिने प्रतिष्ठानको भनाइ छ । आगामी वर्षहरूमा बृहत रूपमा विद्यालय तथा नाट्य समूहहरूबीचमा पनि प्रतियोगिता आयोजना गर्ने योजना रहेको प्रतिष्ठानका अध्यक्ष अम्बिका सम्बाहाम्फेले बताए । प्रतियोगितामा सहभागी विद्यालयहरूलाई धरानमा भएको बाल समस्यामा आधारित नाटक प्रस्तुत गर्न भनिएको पनि आयोजकले जनाएको छ ।
नाटकको स्क्रिप्ट अध्ययन गरेर स्वीकृति दिएपछि मात्र विद्यालयले नाटक मञ्चनको तयारी थालेको उनले बताए । ‘विषयवस्तु, नाटकीयता, नाटकको तत्व, अभिनय र प्रस्तुतिलाई आधार मानेर नाटकको मूल्यांकन हुन्छ, ३ जना निर्णायकले यही कुरालाई ख्याल गरेर निर्णय गर्नेछन्,’ उनले भने ।
नाटक प्रतियोगिताको निर्णायकमा रंगकर्मी बिक्रमश्रि, निर्देशक अरुण प्रधान र रंगकर्मी कुलचन्द्र न्यौपाने छन् । प्रथम हुने नाटकले २५ हजार, दोस्रोले २० हजार, तेस्रोले १५ हजार र सान्त्वना हुनेले १० हजार नगद पुरस्कार हात पार्नेछन् । १ जना उत्कृष्ट निर्देशकले पनि नगद १० हजार पाउने बताइएको छ ।