इटहरीः कोरोना भाइरसबाट सङ्क्रमित हुने मानिसको सङ्ख्यामा केही कमी आएको भए पनि यसबाट जोगिन सतर्कता अपनाउनु आवश्यक छ ।
पानी पर्ने सिजन अर्थात् मनसुन सुरु भएसँगै कोभिडबाहेक अन्य हावाबाट सर्ने, पानीबाट तथा लामखुट्टेको टोकाइबाट पनि विभिन्न रोगहरू सर्ने जोखिम बढेको छ । मौसममा परिवर्तन भएसँगै अधिकांश मानिसमा रुघाखोकी तथा फ्लुको समस्या देखिने हुन्छ । कमजोर प्रतिरक्षा प्रणालीका कारण, बालबालिका र वृद्धहरू प्रायजसो हावाबाट हुने सङ्क्रमणको जोखिममा हुन्छन् । रुघाखोकी तथा फ्लु हावाको माध्यमबाट सजिलै एक व्यक्तिदेखि अकर्कोमा सर्न सक्छ । नाकबाट सिँगान बग्ने, आँखाबाट पानी बग्ने, ज्वरो आउने, घाँटी दुख्ने, शरीर काप्ने जस्ता लक्षण देखिन सक्छ । पटक पटक हात धुने, रुघा तथा फ्लुका बिरामीको सम्पर्कमा नजाने, हाच्छ्युँ गर्दा वा खोक्दा मुख छोप्ने, तातो पानी पिउने गर्दा फ्लु तथा रुघाबाट जोगिन सकिन्छ । हावाबाट सर्ने सङ्क्रमणबाहेक दूषित खाना तथा पानीको माध्यमबाट सर्ने रोगहरू मनसुनको समयमा देखिने अर्को समस्या हो ।
प्रतिरक्षा प्रणाली कमजोर भएका कारण सजिलै रोग लाग्ने हुँदा प्राय बालबालिका यी रोगको सजिलै सिकार हुन्छन् । जन्डिस, झाडापखाला, टाइफाइड, हेपाटाइटिस ए मनसुनको समयमा दूषित खाना तथा पानीको माध्यमबाट सर्ने केही सामान्य रोग हुन् । झाडा बान्ता हुने, खान मन नलाग्ने, ज्वरो आउने, टाउको दुख्ने, पिसाब पहेलो हुने, आँखा पहेँलो हुने, कमजोरी, थकान, जोर्नीको दुखाइ, पेट दुख्ने दूषित खाना तथा पानीको माध्यमबाट सर्ने रोगमा देखिने केही लक्षण हुन् । तरकारी तथा फलफूल खानुअगाडि राम्ररी पखाल्ने, खाना छोप्ने, सरसफाइमा ध्यान दिने, फिल्टर गरेको पानी पिउने, बाहिरको केही नखाने गर्दा दूषित खाना तथा पानीको माध्यमबाट सर्ने रोगबाट बच्न सकिन्छ ।
साथै, मनसुन लामखुट्टेको प्रजनन मौसम हो । लामखुट्टेले निकै दुःख दिने समय भएका कारण यसले टोकेमा डेँगु, मलेरिया, चिकन गुनिया जस्ता रोग सर्ने हुन्छ । उच्च ज्वरो, थकान, कमजोरी लामखुट्टेको टोकाइबाट सर्ने रोगका लक्षण हुन् । राती सुत्दा झुलको प्रयोग गर्ने, लामखुट्टेको टोकाइबाट बच्नका लागि हातखुट्टा छोपिने लुगा लगाउने, औषधि लगाउने, पानी जम्ने ठाउँलाई सफा गर्ने, सरसफाइमा ध्यान दिने गर्दा लामखुट्टेको टोकाइबाट सर्ने रोग लाग्नबाट जोगिन सकिन्छ । -टाइम्स अफ इन्डियाबाट