इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रको बेथितिबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी गराउने सोही प्रतिष्ठानका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.विष्णु पोख्रेलसँग प्रतिष्ठानले प्रष्टिकरण माग गरेको छ ।
प्रतिष्ठानमा शिक्षकका रुपमा कार्यरत रहेका डा. पोख्रेलसँग आन्तरिक गोपनीयता भंग गर्दै सूचना चुहावट गरेको आरोपमा प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले स्पष्टिकरण माग गरेका हुन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नियमावली २०५५ को दफा १० को उपदफा (२६) ले निर्धारण गरेका आचारसंहिता उल्लङ्घनको आरोपमा प्रतिष्ठानले सोही नियमावलीको दफा १० को उपदफा (७) बमोजिम कारबाहीका लागि तीन दिनको म्याद दिई प्रष्टिकरण माग गरेको हो । चिकित्सक पोख्रेलमाथि २०७७ साउन २०, सोही वर्षको भदौ २३ र पुस २८ गतेको प्रतिष्ठानको परिपत्र बर्खिलाप गरेको आरोप पनि प्रतिष्ठानले लगाएको छ । डा.पोख्रेलले प्रतिष्ठानभित्र व्याप्त भ्रष्टारको विरोध गर्न सार्वजनिक अपिल गर्दै सामाजिक सञ्जालमा स्टाटस पोस्ट गरेका थिए ।
यसैगरी, उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिष्ठानको भ्रष्टाचारबारे एसएमएसमार्फत् जानकारी दिँदै अन्यलाई पनि अनियमितताको जानकारी अख्तियारलाई दिन प्रेरित गरेका थिए । आइतबार मात्र अख्तियारले बिपी प्रतिष्ठानमा प्रवेश गरी महत्वपूर्ण कागजात जफत गरेको थियो । अख्तियारका प्रमुख प्रेमकुमार राईको निर्देशनमा क्षेत्रीय कार्यालय इटहरीले छापा मारेको थियो । यसैबीच, डा. पोख्रेलसँग प्रष्टिकरण माग गरिएको विरोधमा प्रतिष्ठानका चिकित्सक तथा विद्यार्थी आन्दोलित भएका छन् । अख्तियारलाई भ्रष्टाचारको जानकारी दिएकै कारणले प्रष्टिकरण सोधिएको भन्दै फ्याल्कटी वेल्फेयर सोसाइटीले गम्भीर आपत्ति प्रकट गरेको छ । सोसाइटीले प्रतिष्ठनको उपकुलपति कार्यालयअगाष्डि विरोधसभा आयोजना गरी असन्तुष्टि जनाएको हो । स्पष्टिकरण फिर्ता लिन सोसाइटीले प्रतिष्ठानलाई २४ घण्टाको अल्टिमेटम दिएको महासचिव डा.एसपी रिजालले बताए । उनका अनुसार प्रष्टिकरण फिर्ता नभए सोसाइटीले आन्दोलन थप सशक्त बनाउनेछ । स्पष्टिकरण माग गरिएका डा. पोख्रेल सोसाइटीका अध्यक्षसमेत हुन् ।