झापाः सवारी दुर्घटनामा पति गुमाएर माइतीको संरक्षणमा पुगेकी शिवसताक्षी नगरपालिका–११ की एकल महिला भीमाकुमारी राई (चौधरी )लाई नेपाली काङ्ग्रेसले आर्थिक सहयोग जुटाएर घर बनाइदिएको छ ।

एकतले पक्की घरको निर्माणकार्य सम्पन्न भइसकेको हुँदा अब रङरोगन गरेर हस्तान्तरण गर्न मात्र बाँकी छ । घर निर्माणमा १४ लाख खर्च भएको काङ्ग्रेसले जनाएको छ । नेपाली काङ्ग्रेस शिवसताक्षी नगर समिति र पार्टीको वडा नम्बर ११ समितिले संयुक्तरूपमा घर निर्माण गरेका हुन् । स्थानीय रामबहादुर चौधरीसँग विसं २०५९ मा अन्तरजातीय विवाह गरेकी भीमाकुमारीका पतिको एक दशकअघि मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । भीमाकुमारीका दुई छोरा र छोरी छन् । बालबच्चाको पालनपोषणका लागि उनी माइतीको शरणमा पुगेकी थिइन् ।

घरबारविहीन भएका कारण उनको घर निर्माणमा पार्टीले अग्रसरता लिएको जनाउँदै काङ्ग्रेस शिवसताक्षी नगर समितिका सभापति परशुराम ढुङ्गानाले आगामी बिपी जयन्तीमा भीमाकुमारीलाई घर हस्तान्तरण गरिने बताए । घर निर्माण उपभोक्ता समितिका अध्यक्ष विनोद ढकालले पार्टी परिवार र विदेशबाट शुभेच्छुकहरुले भीमाकुमारीको घर बनाउन आर्थिक सहयोग प्रदान गरेको जानकारी दिए । सोमबार नेपाली काङ्ग्रेसको अष्ट्रेलिया जनसम्पर्क समितिले सो घर निर्माणका लागि ५५ हजार सहयोग पठाएको उनले बताए । -रासस