झापाः झापाको मेचीनगरमा पहिलो पटक नेपाली सांस्कृतिक महोत्सव हुने भएको छ । आयोजक पिस एण्ड हार्माेनी क्लब मेचीनगरले आगामी कात्तिक १९ गतेदेखि ३० गतेसम्म महोत्सव आयोजना गर्न लागेको क्लबका अध्यक्ष निमा वाङ्देल तामाङले बताए ।

‘शान्ति तथा सहिष्णुता आजको आवश्यकता’ भन्ने मुख्य नारासहित मेचीनगर —६ स्थित रमाइलो गाउँमा महोत्सवको तयारी भइरहेको बताइएको छ ।

क्लबलाई आर्थिक रूपमा मजबुत पार्न महोत्सव आयोजना गरिएको पत्रकार सम्मेलनमा बताइयो । कोषाध्यक्ष बुद्ध मगरले महोत्सव आयोजना गर्न करिब साढे ३ लाख रुपैयाँ खर्च हुने र ५ लाखदेखि ७ लाख रुपैयाँको कारोबार हुने अनुमान गरिएको बताए । महोत्सवमा रोटेपिङ, कोलम्बस, झुला, ड्राइगन, ब्रेक डान्स, जम्पिङ, मिकीमाउसलगायतका बाल खेलसामग्री तथा विभिन्न खानाका परिकारको स्टल राखिने बताइएको छ ।

कलाकार श्रीकृष्ण लुइँटेलसहित साइकिरण लम्साल, विश्वास उप्रेती, जुनु प्रसाई, निकिता राजवंशीको साङ्गीतिक प्रस्तुति पनि रहने बताइएको छ । आयोजकले महोत्सव स्थल प्रवेशका लागि ५० रुपैयाँ प्रवेश शुल्क राखेको छ । महोत्सव अवधिभर महोत्सव परिसरमा मादक पदार्थको बिक्री तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइने तथा जुवाजन्य खेलमा रोक लगाइएको अध्यक्ष तामाङले जनाए ।