झापाः मेचीनगर नगरपालिकाले दीपावलीका अवसरमा खेलिने देउसी तथा भैलोमा ५१ रुपैयाँभन्दा बढी दक्षिणा दिन र लिन नपाउने निर्णय गरेको छ । नगरपालिकाले बुधबार आफ्नै कार्यकक्षमा आयोजना गरेको सर्वपक्षीय छलफलका सहभागीले यो निर्णयको स्वागत गर्दै कार्यान्वयन गर्नेमा प्रतिबद्धता जनाएका छन् । दक्षिणा लिने क्रममा कसैले पनि करकापमा पार्न नपाउने समेत छलफलले निर्णय गरेको छ ।
निमित्त नगर प्रमुख मीना पोखरेल उप्रेतीको सभापतित्वमा भएको छलफलले सो निर्णय गरेको हो । नेपाली मौलिक परम्परा झल्किने भेषभुषा र गीत तथा सङ्गीतमा लक्ष्मीपूजाका दिनदेखि भाइटीकासम्म देउसी भैलो राति १० बजेसम्म मात्र खेल्न पाउने निर्णय भएको उप्रेतीले बताइन् ।
देउसी भैलोको नाममा मादक पदार्थ सेवन गरेर स्थानीयलाई आतङ्कित पारे, सवारी नियम नियम उल्लङ्घन गरे तथा सार्वजनिक स्थलमा होहल्ला गरे स्थानीय प्रशासनले कानुनबमोजिम कारवाही गर्ने समेत छलफलले निर्णय गरेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए । जुवा तथा जुवाजन्य खेलमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने, पटाकाजस्ता प्रज्वलनशील वस्तुले धनजनको क्षति गर्ने भएकाले यसको आयात तथा प्रयोगमा समेत कडा निगरानी गर्ने भेलाले निर्णय गरेको छ ।
दीपावलीमा विद्युत आपूर्ति नियमित गर्न प्राधिकरणलाई आग्रह गर्ने छलफलले निर्णय गरेको र उक्त निर्णय कार्यान्वयन भए नभएको अनुगमनका लागि नगर प्रमुख, कार्यपालिका सदस्य, नगरपालिकाका कर्मचारी, स्थानीय प्रशासनले नियमित अनुगमन गर्ने समेत निर्णय भएको प्रेस संयोजक उप्रेतीले बताए । नगरका मदिरा पसल साँझ ८ बजेभित्रमा बन्द गर्नुपर्ने पनि निर्णय भएको जनाइएको छ ।
छलफलमा प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ, सामुदाियक विकास अधिकृत अनन्तप्रकाश वस्ती, खाद्य विश्लेषक दीपेन्द्र कार्की, विभिन्न वडाका अध्यक्ष र कार्यपालिका सदस्य इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक महेश थापा सहभागी थिए ।
त्यस्तै, इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक खगेन्द्रप्रसाद रिजाल, सशस्त्र प्रहरी बल नेपाल राजस्व तथा भन्सार सुरक्षा गुल्म काँकरभिट्टाका सशस्त्र प्रहरी निरीक्षक दिव्यराज कोइराला, अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाका प्रमुख प्रहरी नायब निरीक्षक नारायणप्रसाद आचार्य नेपाली काङ्ग्रेसका मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकीलगायतको सहभागिता रहेको थियो ।