अमेरिकी अन्तरिक्ष संस्था नासाका वैज्ञानिकहरूले मंगल ग्रहमा हेलिकप्टर उडाउने तयारी थालेका छन् ।

आउँदो अप्रिल ८ पछि हुने उक्त उडान एक ग्रहबाट नियन्त्रण गरी अर्को ग्रहमा गरिएको पहिलो उडान हुनेछ । १.८ किलोग्राम तौल भएको हेलिकप्टरलाई वैज्ञानिकहरूले इन्जेन्युटी नाम दिएका छन् । अहिले यो हेलिकप्टर गत फेब्रुअरी १८ मा मंगल ग्रहको सतहमा अवतरण भएको अन्तरिक्ष यान पर्सिभरेन्सको रोभरभित्र छ । पर्सिभरेन्सले केही दिनअघिमात्रै इन्जेन्युटी हेलिकप्टरको उडानपछि अवतरण हुने ठाउँमा उसलाई जोगाउन चाहिने सामान राखिसकेको छ । नासाका अनुसार अहिले रोभरले हेलिकप्टरको उडान हुने ठाउँमा काम गरिरहेको छ । रोभरभित्र रहेको हेलिकप्टर सतहमा आएपछि इन्जेन्युटीले पृथ्वीको ३१ दिनभित्र पहिलो उडान गर्ने छ ।

’सन् १९९७ मा नाासाको सोजर्नर रोभर मंगल ग्रहमा अवतरण भयो, यसले रातो ग्रहमा यताउति जान सम्भव थियो भन्ने देखायो र हामीले यो ग्रहको अनुसन्धान कसरी गर्नु पर्छ भन्ने धारणा बदल्यो । त्यही किसिमले यसपालि हामी भावी अनुसन्धानका लागि के–के कौशल हुन सक्छन् भन्ने थाहा पाउन चाहन्छौं,’ नासा मुख्यालयको प्लानेटरी साइन्स डिभिजनका निर्देशक लोरी ग्लेजले भनेका छन् । मंगल ग्रहमा हेलिकप्टर उडाउनु पृथ्वीको उडानभन्दा निकै कठिन छ । मंगल ग्रहमा पृथ्वीको एक तिहाइ जति गुरूत्व बल छ तर वायु मण्डलको घनत्व पृथ्वीको सतहको घनत्वको १ प्रतिशतमात्र छ । दिउँसो मंगल ग्रहले पृथ्वीमा आउने सूर्यको तापभन्दा आधामात्र ताप पाउँछ राति भने यहाँको तापक्रम माइनस ९० डिग्री सेल्सियससम्म पुग्न सक्छ । जुन तापक्रमले सुरक्षा कवज नभएका इलेक्ट्रिक सामानलाई खराब बनाइदिन सक्छ ।

नासाका वैज्ञानिकहरूले इन्जेन्युटीको उडानसँगै रोभरको सुरक्षाबिना उसले मंगल ग्रहको सतहमा बिताउने रात पनि निकै चुनौतिपूर्ण हुने बताएका छन् । उडानअघि इन्जेन्युटीलाई १०÷१० मिटरको एयरफिल्डको बीचमा राखिने छ । वैज्ञानिकहरूले केही अवरोध नहुने त्यस्तो ठाउँ खोजेर हेलिकप्टरलाई रोभरबाट निकालेर राख्नेछन् । अर्को ग्रहमा पहिलो पटक यस्तो उडान गर्न लागेका वैज्ञानिकहरूलाई यो प्रक्रिया पछाडि फर्किने विकल्प छैन । रोभरबाट हेलिकप्टर मंगल ग्रहको सतहमा छोड्न नै ६ दिन ४ घन्टा लाग्नेछ । सतहबाट उडेपछि इन्जेन्युटी १० फिट माथिसम्म जाने छ र ३० सेकेन्डसम्म उड्ने छ । उडानमा हुँदा यसमा जडान भएको क्यामेराले खिचेका तस्बिर रोभरले पृथ्वीमा पठाउने वैज्ञानिकहरूले अपेक्षा गरेका छन् । पहिलो उडान सफल भएपछि वैज्ञानिकहरूले मंगल ग्रहमा अरू पनि उडान गर्नेछन् । -एजेन्सी