धरानः धरान–१५ स्थित ङाग्युर ञीङमा ङ्युङ्ने ल्हाखाङ गुम्बामा १० करोड बज्र गुरु जप तथा अष्ट नृत्य (छाम) हुने भएको छ ।

गुम्बा परिसरमा आगामी कात्तिक २४ गतेदेखि १० दिनसम्म चल्ने गुरु जप तथा गुरु नृत्यमा विश्व प्रसिद्ध धर्म गुरु २१ औं अवतारी दुज्योम साङ्गे पेमा शेर्पा रिम्पोछेसहित ५ जना अवतारीहरू आउने कार्यक्रम रहेको कार्यक्रम संयोजक लोकबहादुर थिङले बताए । उनका अनुसार दुज्योम साङ्गेसहित सातौँ अवतारी सिम्दा गेटुल रिम्पोछे, निमा साङ्गे रिम्पोछे र ज्यामयाङ वाङपो रिम्पोछे आउने भएका हुन् ।

उद्घाटनको दिन सिम्दा गेटुल रिम्पोछे र निमा स्याङपो रिम्पोछे, कात्तिक ३० गते दुज्योम रिम्पोछे आउने कार्यक्रम रहेको बताइएको छ । यस्तै, मंसिर १ गते छेन्गे छाम र ३ गते दुज्योम तेसर डोण्डोको लुङ र ठि, दुज्योम तेसर थोमाको (च्योद) को वाङ र लुङ गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, छेवाङ (आयु अभिषेक) प्रदान समेत गरिने भएको छ । पृथ्वीमा रहेका सम्पूर्ण प्राणी जगत्को दीर्घायुको लागि गुरु पद्म समूहको मन्त्र १० दिनसम्म लामा, अवतारी, उपासक उपासिकाले गणना गरेर १० करोड पु¥याइने गुम्बाका लामा राजेन्द्र स्याङबोले बताए ।

विदेशबाट पनि सहभागी आउने
दुई दिनसम्म गुरु पद्म समूहको १ हजार २ सय वर्ष पुरानो गुरु नृत्य समेत देखाइने उनले बताए । जापान, कोरिया, भारत इन्डोनेसियाबाट समेत गुरु, लामा तथा उपासक उपासिकाहरूको सहभागिता रहने जनाइएको छ । करिब ५० हजारको सहभागिता रहने गुम्बाका लामा राजेन्द्र स्याङबोले बताए ।

१० करोड बज्र गुरु जप तथा लोप भइसकेको बौद्ध शताब्दीका गुरु नृत्यको जगेर्ना गर्नको लागि कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक थिङले बताए । सोही अवसरमा ज्येष्ठ, अनाथ, निम्न स्तर भएका विद्यार्थीहरूको निःशुल्क अध्ययनको लागि अक्षयकोष समेत स्थापना गरिने उनको भनाइ थियो ।