इटहरीः इटहरी क्षेत्रमा रहेका साहित्यकारहरुले स्थानीयस्तरमा साहित्यिक गतिविधिलाई उत्कर्षमा पुर्याई नगरको पहिचान स्थापित गर्ने कार्यको श्रीगणेश गरेका छन् ।

नगरका साहित्यकारहरुलाई एकसुत्रमा बाँध्दै साहित्यिक प्रतिभाको परिष्कारका साथै साहित्यप्रेमी जमातलाई आफ्ना सिर्जनाको खुराक पस्कने मूल ध्येयका साथ २०७२ सालमा स्थापित साहित्यिक संस्था ‘शब्द प्रवाह’ ले आफ्नो ‘शब्दधारा’ प्रवाह गर्न थालेको हो । आवाजमा शक्ति छ भन्ने विश्वासका साथ अस्तित्वमा आएको यस संस्थाले शब्दकै बलमा समाजमा चेतनाको दीप प्रज्वलित गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात गरेको छ । समाजमा स्थानीयस्तरका साहित्यकारहरुको पकड स्थापित गर्न र जनमानसलाई मानव जीवनका विविध आयामहरुसँग काव्यिक ढङ्गले साक्षात्कार गराउन संस्थाले आफ्नो उपस्थिति कायम गरेको संस्थाका अध्यक्ष विराट अनुपमले बताए । उनका अनुसार साहित्यिक शहरको रुपमा इटहरीको पहिचान स्थापित गराउन संस्थाले गर्ने गतिविधिले मद्दत मिल्नेछ ।

162965468_4081762031857255_1057800688682448826_o

साहित्य लेखन, मञ्चन र प्रकाशनको सेतुका रुपमा शब्द प्रवाहले आफूलाई प्रस्तुत गरिरहेको इटहरीका साहित्यकार बद्री भिखारीको टिप्पणी छ । इटहरी क्षेत्रको साहित्यिक गतिविधिमा लगभग शून्यता छाएको महसुस भइरहेका बेला ‘शब्द प्रवाह’ ले भने काव्यिक प्रस्तुतिको तरङ्गले इटहरीको माहौललाई उमङ्गमय बनाउने श्रृङ्खलाबद्ध कार्यक्रम सुरु गरेको छ । ‘इटहरी काव्य सन्ध्या’ शीर्षकको सो कार्यक्रममा हरेक महिना इटहरी क्षेत्रकै एक वा दुई जनासम्म सर्जकहरुलाई आमन्त्रण गरी आफ्ना काव्यिक रचनाको धाराप्रवाह वर्षा गर्ने अवसर प्रदान गरिने अध्यक्ष अनुपमको कथन छ । इटहरीको पश्चिमलाइनमा अवस्थित शैक्षिक परामर्श तथा वैदेशिक शिक्षाको पहुँच उपलब्ध गराउने संस्था ओली एन्ड एसोसियट्सको प्रायोजनमा सुरु भएको कार्यक्रम ओली एन्ड एसोसियट्सकै भवनमा सञ्चालन हुनेछ । कार्यक्रमको पहिलो श्रृङ्खलामा आज इटहरीका कवि देवान किराँतीले आफ्ना उत्कृष्ट १० ओटा कविताहरु धाराप्रवाह रुपमा वाचन गरे ।

गाँठी कुरा, षड्यन्त्र, रोटी, प्रेमको लास, चिसो, निमन्त्रणा, मृत्युको गुलाफ, मन्दिर र चिहान, पुरानो प्रेम एवं सत्य शीर्षकका कविता वाचन गरेका कवि किराँतीले आफ्नो सशक्त वाचनकलाको माध्यमबाट उपस्थित दर्शकदिर्घालाई मन्त्रमुग्ध तुल्याएका थिए । उनका कविताहरुले जीवनको सास्वत सत्य मृत्युप्रतिको मानिसको भय, सांसारिक मोह, भ्रम र यथार्थ, प्रेमजस्ता विविध पक्ष समेटेका थिए । कवि किराँतीको कवितासंग्रह ‘हुरीमा नाचिरहेको इश्वर’ प्रकाशित छ । ‘कि नोट स्पिकरका रुपमा मञ्चमा प्रस्तुत भएका नाट्यकर्मी सोनु जयन्तिले कवि देवान किराँतीको साहित्यिक प्रवृत्ति र जीवनशैलीबारे प्रकाश पारेका थिए । साहित्य पात्रमा आधारित हुने भन्दै जयन्तिले पात्रमा परिवर्तन भए सिर्जनामा विचलन आउनसक्ने तर्क गरे । कवि मनु मञ्जिलको प्रमुख आतिथ्य तथा कवि बद्री भिखारीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई संस्थाका अध्यक्ष अनुपम स्वयंले सञ्चालन गरेका थिए ।

162378385_4081804195186372_4279443323786121784_o

प्रमुख अतिथि मञ्जिलले सुन्दर सिर्जना गर्नु कविको कर्तव्य भएको धारणा राखे । आफ्ना सिर्जनामार्फत् पाठकलाई कल्पनाशील बनाउने क्षमता सर्जकमा हुनुपर्ने उनको भनाइ थियो । शब्द अत्यन्तै हल्का चिज भएको भन्दै यसमा वजन थप्ने र यसलाई अमरत्व प्रदान गर्ने दायित्व साहित्यकारको काँधमा रहेको उनले उल्लेख गरे । एक सय ५० जनाभन्दा बढीको सहभागितामा सम्पन्न कार्यक्रममा नागरिक समाज इटहरीका संस्थापक अध्यक्ष प्राध्यापक डा. बद्रीविशाल पोख्रेल, साहित्यकार तथा अध्यापक डा. राम्जी तिम्सिना, साहित्यकार जसराज किराँती, इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम, बेलबारी नगरपालिकाकी उपमेयर तारा पराजुली लगायतको उपस्थिति थियो ।

162319152_4081780755188716_1484417788303739288_o