इटहरीः नेपाली सेयर बजारमापक नेप्से सूचक आइतबार १३ दशमलव ६२ अङ्कले घटेर १२२७ दशमलव ४९ अङ्कमा आइपुगेको छ । कारोबारमा आएका १० समूहका सूचकमध्ये होटलबाहेक अन्य सबै समूहको सूचकमा रातो पोतिएको छ ।

आइतबार सेयर बजार १ दशमलव १० प्रतिशतले ओरालो लागेको हो । जम्मा १ सय ६० कम्पनीको ३२ करोड ६४ लाख ८३ हजार ६ सय ७३ रुपैयाँको सेयर किनबेच भएको थियो । ११ लाख ९७ हजार १ सय ६ कित्ता सेयर ४ हजार ९ सय ८५ पटक कारोबार भएको थियो ।

आइतबार होटल समूहको सूचकमा झिनो सुधार हुँदा सबैभन्दा धेरै बैंकिङ समूहको सूचकमा १ दशमलव ४४ र निर्जीवन बीमा समूहको सूचकमा १ दशमलव ३९ प्रतिशतले गिरावट आएको छ ।

ग्लोबल आइएमईको धेरै कारोबार
आइतबार कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक सबैभन्दा अघि छ । यसको २ करोड ३३ लाख ८८ हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार हुँदा प्रभु बैंकको २ करोड ३२ लाख १ हजार र एनआइसी एसिया बैंकको २ करोड २८ लाख ७९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । अन्य कुनै पनि कम्पनीको कारोबार रकमले २ करोडको अङ्क छुन सकेन ।

कमाउनेमा नेपाल सेवा
बजार घटे पनि आइतबार नेपाल सेवा लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ५ दशमलव ९५ प्रतिशतले सम्पत्ति कमाएका छन् । रैराङ हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव ९६ प्रतिशतका दरले र उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३ दशमलव ६२ प्रतिशतले सम्पत्ति कमाएका छन् । जम्मा २२ वटा कम्पनीको सेयर मूल्य बढेकोमा अन्य कुनै पनि कम्पनीको सेयर मूल्य ३ प्रतिशतले बढ्न सकेन ।

गुमाउनेमा आइएमई जनरल इन्स्योरेन्स
बजार खुलेदेखि नै नेप्से सूचक ओरालो लागेको आइतबारको बजारमा सबैभन्दा धेरै आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले ५ दशमलव ०९ प्रतिशतका दरले सम्पत्ति गुमाएका छन् । युनाइटेड फाइनान्सका लगानीकर्ताले ४ दशमलव ८९ प्रतिशतले सम्पत्ति गुमाउँदा गुह्येश्वरी मर्चेन्ट फाइनान्सका लगानीकर्ताले ४ दशमलव ७६ प्रतिशतले सम्पत्ति गुमाएका छन् । अपि पावरका लगानीकर्ताले ४ दशमलव ०२ प्रतिशतले सम्पत्ति गुमाउँदा अन्य कम्पनीका लगानीकर्ताले ४ प्रतिशतभन्दा तलको दरमा सम्पत्ति गुमाउन पुगे ।