धरानः धरानमा माता ‘पञ्चकुमारी नृत्य–२०७५’ यस वर्ष पनि देखाइने भएको छ । नेवा सांस्कृतिक उत्थान मञ्च सुनसरीको आयोजना तथा नेवा देयः दबूः सुनसरीको संयोजकत्वमा धरानको भानुचोकमा कात्तिक १२ गते देखाइने भएको हो ।
नेवारी संस्कृतिमा आधारित पौराणिक दुर्लभ चर्या नृत्य दिनको १ बजेदेखि शुरु हुने शुक्रबारको पत्रकार सम्मेलनमा आयोजकले बताएको हो । चर्या नृत्य महामञ्जुश्री, कौमारी, काली, भैरव, बज्रयोगिनी नृत्य प्रस्तुत गरिने कार्यक्रम संयोजक विश्वबन्धु ताम्राकारले बताए । जातीय नृत्य र गीत गाउँदै बाँसुरीको धुनसहित धरान नगर परिक्रमा गर्नेसमेत कार्यक्रम तय भएको संयोजक ताम्राकारले बताए । अन्य जातीय झाँकीसमेत प्रस्तुत गरिने भएको छ ।
लोप हुँदै गएको नेवारी संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नेवा सांस्कृतिक उत्थान मञ्चका सुनसरी अध्यक्ष चन्द्र हलुवाइले बताइन् । कार्यक्रमबाट सञ्चित गरिएको केही रकम नेवारी सङ्ग्राहलय भवन (नेवाः छे) को निर्माणमा खर्च गरिने उनले बताइन् ।