दुहबीः सुनसरीको दुहबीमा थारु गोठाले महोत्सव पर्व हुने भएको छ । थारु कल्याणकारिणी सभा नगर कमिटी दुहबी, थारु महिला सभा दुहबी र थारु कल्याण सभा मोरङ सुनसरीको आयोजनामा महोत्सव हुने भएको हो ।
दुहबी–५ स्थित श्री सरस्वती माविको खेल मैदानमा कात्तिक ५ गते सोमबार गोठाले महोत्सव हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पत्रकार सम्मेलनमा थारु कल्याणकारिणी सभाका केन्द्रीय पार्षद देवकुमार चौधरीले गोठाले महोत्सवमा थारु जातिको विभिन्न परिकारहरू माछा बगिया लगायतबाट अतिथि सत्कार गरिने बताए । थारु कला र संस्कृतिको जगेर्ना गर्न झाँकीसहित थारु पहिरनमा सांस्कृतिक कार्यक्रम गरिने उनले जनाए ।
पत्रकार सम्मेलनमा हौली परिवारका अध्यक्ष सम्पतलाल चौधरीले गोठाले पर्वको महत्वको बारेमा प्रकाश पारेका थिए । गोठाले पर्वमा कुल देवताको पूजा गरी नातागोता इष्टमित्रहरूलाई बोलाई विभिन्न परिकारहरू खुवाउने गरिन्छ । भोलिपल्ट कुँड पावनको व्रत बसेमा इच्छाएको मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
थारु गोठाले महोत्सवमा सुनसरी र मोरङबाट आएका आगन्तुक र सहभागी गरी करीब ५ हजार बढीले अवलोकन गर्ने आयोजकको दाबी छ । महोत्सव सम्पन्न गर्नका लागि २ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।