इटहरीः चैत्र २७ मा रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘कृष्णलिला’ को ‘कुनै दिन यस्तो पनि..’ बोलको रोमान्टिक गीत शुक्रबार सार्वजनिक भएको छ ।

अभिनेता पुष्प खड्का र नवअभिनेत्री श्रद्धा क्षेत्री फिचर्ड गीतमा उनीहरु निकै प्रेमील भावमा प्रस्तुत भएका छन् । सुगम पोखरेल र अञ्जु पन्तको स्वरमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । दीपक ओली निर्देशित फिल्मको सो गीत पूर्वी नेपालको इलाम, झापा र पाँचथरका विभिन्न रमणीय स्थानमा खिचिएको हो । नयाँ वर्ष २०७८ को अवसर पारेर प्रदर्शन गर्न लागिएको फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेल हुन् भने कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् ।

लभस्टोरी विधाको फिल्मको लेखन लक्ष्मण सुवेदी, छायांकन शिव ढकाल र बाबु श्रेष्ठ तथा द्वन्द्व श्री श्रेष्ठको छ । प्रकाश कार्की र केवल तामाङ निर्माता रहेको फिल्मको सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् । फिल्ममा पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ,रवीन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई,आयुषा क्षेत्री, पिताम्बर आचार्यलगायतका कलाकारको अभिनय छ । अर्जुन जिसीको सम्पादन रहेको फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दैछ ।