इटहरीः नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता मिस नेवाः नेपाल यस वर्ष निर्धारित मितिभन्दा एक साता पछि हुने भएको छ ।

नेवार समुदायका युवतिहरुका लागि नेप्लिज फेसन होमले आयोजना गर्दै आएको मिस नेवाः नेपाल यस वर्ष फागनु ७ गते कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्ने पक्का गरे पनि सरकारले प्रजातन्त्र दिवससम्बन्धी कार्यक्रम प्रतिष्ठानमै गर्ने भएपछि एक साता पछाडिलाई सार्नु परेको नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा प्रजातन्त्र दिवससम्बन्धी कार्यक्रम तोकिएकाले मिस नेवाः को कार्यक्रम एक साता पछाडिलाई सारिएको हेमाले बताइन् ।

अब १५औँ संस्करणको मिस नेवाः नेपाल ११४१ फागुन ७ को सट्टा फागुन १५ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ । मिस नेवाःका प्रतिस्पर्धीहरु मिस ट्यालेन्टलगायतका कार्यक्रम तथा विभिन्न तालिम, प्रशिक्षण र भ्रमणपछि अहिले अन्तिम प्रतिस्पर्धामा भिड्ने तयारीमा जुटेका छन् । १५औँ संस्करणको मिस नेवाः नेपाल ११४१ मा १५ जना नेवार सुन्दरीहरु अन्तिम प्रतिस्पर्धामा भिड्दैछन् । नेप्लिज फेसन होमले डेढ दशकदेखि नेवार समुदायका युवतिहरुका लागि मिस नेवाः नेपाल आयोजना गर्दै आएको छ भने नेवार समुदायका बालिकाहरुका लागि लिटल मिस नेवाः आयोजना गर्दै आएको छ । नेवार समुदायको कला, भाषा र संस्कृतिलाई जीवन्त राख्न यी प्रतियोगिता आयोजना गर्दै आएको नेप्लिज फेसन होमकी अध्यक्ष मानन्धर बताउँछिन् ।