इटहरीः हाल अमेरिकामा बस्दै आएका गायक नेचुरल निर्मलको स्वरमा देशभक्ति भावले ओतप्रोत नयाँ गीत ‘जुटौं अब त उठौं अब त’ को भिडियो दर्शकमाझ आएको छ ।

निर्मलले यो गीतको रेकर्ड पनि अमेरिकाको क्यालिफोर्नियामा गरेका हुन् । गीतका रेकर्डिस्ट मुस्कान बलमपाकी हुन् । यो गीतमा संगीत पनि निर्मलकै रहेको छ । गीतको रचना गीता बजगाईंले गरेकी हुन् । गीतको संगीत संयोजन र मिक्सिङ विष्णु अधिकारीले गरेका हुन् । यो गीतको म्युजिक भिडियो सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक एवम् चलचित्र निर्देशक राजेश थापाले गरेका हुन् । थापाले गीतको भिडियोमा देशभक्ति भावलाई निकै प्रभावशाली रुपमा समेटेका छन् । मुलतः भारतले कब्जा गरेको नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीजस्ता भूभाग हाम्रै हो भन्ने भावमा यो गीत तयार गरिएको हो । त्यो भूभाग नेपालको हो भनेर भिडियोमा निर्देशक थापाले उठान र पुष्टि गरेका छन् ।

यो गीतको भिडियोलाई नगेन्द्र राईले छायाँकन गरेका हुन् । भिडियोमा कोरियोग्राफी पनि राईकै हो । जसमा किशोर खनालको सम्पादन रहेको छ । यो गीतको भिडियोलाई विकल्प फाउन्डेसनको युट्युब च्यानलबाट रिलिज गरिएको छ । यो गीतको भिडियोमा नेपालका विभिन्न सम्पदा, सँस्कृति, प्राकृतिक सुन्दरता, भेषभुषा तथा नृत्य प्रस्तुत गरिएको छ । यसअघि नेपाल टेलिभिजनमा श्रष्टा आवाज कार्यक्रम निर्माता तथा प्रस्तोताको रुपमा रहँदा निर्देशक राजेश थापाले ४४ वटा राष्ट्रिय भाव तथा जागरण गीतहरुको म्युजिक भिडियो निर्माण गरेका थिए । त्यसपछि पनि उनी यस्ता राष्ट्रिय भाव तथा जागरण गीतको भिडियो निर्देशनमा छन् । अन्य फुटकर एक दर्जन म्युजिक भिडियो निर्देशन गरेका थापाले यसपटक यो देशभक्ति भावको गीतको भिडियो ल्याएका हुन् ।