सङ्खुवासभाः जिल्लाका विभिन्न स्थानमा हिमपात सुरु भएको छ । चिसो बढेसँगै भोटखोला गाउँपालिका–१ को किमाथाङ्कावरिपरि भारी हिमपात भएको छ ।

हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । सो क्षेत्रमा शनिबारदेखि नै सुरु भएको हिमपात आज बुधबारसम्म निरन्तर भइरहेको छ । किमाथाङ्का र उत्तरी क्षेत्र चीनको देनडाङ क्षेत्रमा भएको बाक्लो हिमपातले त्यहाँको जनजीवन प्रभावित भएको किमाथाङ्कास्थित सीमा प्रहरी चौकीले जनाएको छ । जमिनमा दुई फिटसम्म हिँउ थुप्रिएपछि स्थानीयवासीको जनजीवन कष्टकर बन्नुका साथै पशु चौपायासमेत प्रभावित भएका छन् । भोटखोला गाउँपालिका–१ का वडाध्यक्ष तेनछेवी भोटेले चार दिनदेखि पशु चौपायालाई चराउन र घरबाहिरको कामकाज गर्नसमेत कठिनाइ भएको बताए । यस क्षेत्रमा वर्षको पहिलोपटक हिमपात सुरु भएपछि सो क्षेत्रको छेसुम्बा, गुम्बालगायतका डाँडामा सेताम्य हिउँ थुप्रिएको छ ।

यसैगरी, सङ्खुवासभाकै मकालु हिमालको आसपास क्षेत्र माङ्सिमा, सेदुवा, हटिया, चेपुवालगायतका क्षेत्रमा पनि आकस्मिक हिमपात भएको मकालु गाउँपालिकाका विमन पराजुलीले जानकारी दिए । त्यस्तै, जिल्लाको दक्षिणी भेकका धर्मदेवीको टुटे देउराली, तीनजुरे, चैनपुर नूनढाकीको गुफापोखरी र मिल्के जलजले क्षेत्रमा समेत हिमपात भएको चैनपुर–१ गुफापोखरीका स्थानीय हिमा खनालले जानकारी दिए । पर्यटकीय गन्तव्य बन्दै आएको चैनपुरको गुफापोखरी क्षेत्रमा चिसोको प्रवाह नगरी हिमपात क्षेत्रमा हिउँ खेल्नका लागि आसपास क्षेत्रबाट आन्तरिक पर्यटकको चहलपहल सुरु भएको खनालले जानकारी दिए । -रासस