इटहरीः एमएनटीभी अष्ट्रेलियाको अन्तर्राष्ट्रिय अनलाइन गायन प्रतियोगिता हल अफ फेम सिजन २ को च्यालेन्ज राउन्डबाट अझ बढी रोमाञ्चक बन्दैछ ।

विभिन्न नयाँ गायक तथा गायिकाहरुको सांगीतिक प्रतिस्पर्धाका कारण रौनकता बढिरहे पनि कार्यक्रम लाई अझ रमाइलो र मनोरन्जनात्मक बनाउन उद्घोषणमा कमेडियन सुमन कार्कीको इन्ट्री भएको छ । अब कार्यक्रमको उद्घोषणमा सदीक्षासँग डान्सिंग विथ स्टार का उद्घोषक जोडी सुमन कार्कीले साझेदारी गर्ने छन् । डान्सिंग विथ स्टार्सको सेटमा मस्त देखिएको यो जोडी फेरि एक पटक सांगीतिक रियालिटी शोमा जम्ने भएको हो । सुमन कार्कीको सरप्राइज इन्ट्रीले अब दर्शकहरुले यी दुईको अझ बढी रमाइलो र मनोरञ्जनात्मक प्रस्तुति पनि हेर्न पाउनेछन् । ६ एपिसोडसम्म एक्लैले सञ्चालन गरेकी सदीक्षालाई अबबाट सुमनले साथ दिने छन् । सातौं श्रृंखलामा ८ जना गायक तथा गायिकाहरुले प्रतिस्पर्धा गर्दैछन् ।

आजको एपिसोडमा दर्पन रिजाल र रानिस क्षेष्ठले वरिष्ठ गायक दिप श्रेष्ठको (मेरो आँखामा..) बोलको गीत गाएका छन् भने कन्दरा व्याण्डका विवेक श्रेष्ठको (हङकङ पोखरा‘) बोलको गीत दिनेश गुरुङ, नामसाङ राई र सुरेन लिम्बुले गाएका छन् । यस्तै विजय सुनार, सन्दीप गहतराज र सन्जिभनी महर्जनले रेजिना रिमालको (म मर्ने बेलामा..) बोलको गीत गाएर दर्शकलाई मनोरञ्जन दिएका छन् । आजको एपिसोडमा तीन देशबाट ९ प्रतिस्पर्धी भएपनि ८ जनाले सहभागीता जनाए । गिरीराज खतिवडाको स्वास्थ्यमा समस्या भएकाले उनी यो एपिसोडमा सहभागी भएनन् । हरेक शुक्रबार र शनिबार राति ८ बजे कार्यक्रम हिमालय टेलिभिजनका साथै एमएनटीभी अष्ट्रेलियाका अन्य डिजिटल प्लेटफर्महरुमा प्रसारण गरिँदै आएको छ ।