इटहरीः दलित समुदायको सशक्तिकरणका साथै समग्र उत्पीडित वर्गको उत्थानका लागि आफ्नो बल र बुद्धिको प्रयोग गरी निरन्तर प्रयत्नरत अधिकारकर्मी हुन् शान्ति गजमेर । २०३९ पुस २६ गते धनकुटाको चौबिसे गाउँपालिकास्थित चौरेमा जन्म भई मोरङको लेटाङ नगरपालिकामा प्रारम्भिकदेखि माध्यमिक तहको शिक्षा प्राप्त गरेकी गजमेर बाल्यकालदेखि नै उत्पीडित वर्गको समस्या समाधानका लागि आवाज बुलन्द गर्ने कार्यमा सक्रिय रहेकी छन् ।

कक्षा ५ मा अध्ययनरत रहँदा नेपाली किताबको पाठ्यक्रममा आफूले पढेको ‘वर्षा याममा एक दिन’ शीर्षकको कविताबाट प्रभावित भई वर्गीय असमानता र सामाजिक विभेदविरुद्ध सशक्त रुपमा आवाज उठाउन थालेको उनको भनाइ छ । आफूले प्रविणता प्रमाणपत्र तहमा अध्ययनरत रहँदा नाटक लेखनमा पनि कलम चलाएको बताउँदै उनले आफ्ना लेखनमा विभेद विरुद्धको स्वर गुञ्जिएको उल्लेख गरिन् । शिक्षक पिताकी सन्तानका रुपमा जन्मिएकी गजमेरले लेटाङको श्री माध्यमिक विद्यालयबाट प्रारम्भिक तथा शिक्षा विकास माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा प्राप्त गरेकी हुन् । २०५८ सालमा एसएलसी उत्तिर्ण गरेकी उनले २०६० सालमा प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गर्नुका साथै सन् २०१७ मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यताप्राप्त चिकित्सा सहायक (एचए) पनि उत्तिर्ण गरिन् ।

137356140_1139746566487627_8410301784171897963_n

माइतिमा रहेसम्म परिवारको सहयोगका कारण अध्ययनमा अब्बल रहेकी शान्तिलाई विवाहपछि श्रीमानबाट भने अध्ययनका लागि अपेक्षाकृत सहयोग प्राप्त भएन । श्रीमानकै असहयोगका कारण उनको पढाइ १० वर्षसम्म अवरुद्ध बन्न पुग्यो । जीवनका विभिन्न जटिलतम परिस्थितिका बावजुद अध्ययनप्रतिको लगावलाई उनले हालसम्म मर्न भने दिएकी छैनन् । उनी हाल इटहरीकै जनता बहुमुखी क्याम्पसमा मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत पत्रकारिता र सामाजिक कार्य विषयमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत रहेकी छन् ।

अध्ययनका अतिरिक्त शान्ति व्यवसाय र सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेकी छन् । वि.स. २०६० देखि २०६४ सम्म मोरङको विराटनगरमा ब्युटिपार्लर सञ्चालन गरी बसेकी उनले २०६४ सालमा मधेश आन्दोलनका कारण सो व्यवसाय बन्द गरी इटहरीमा कपडा व्यवसाय सञ्चालन गरिन् । सो व्यवसायलाई हालसम्म निरन्तरता दिएकी उनले इटहरीमै ब्युटिपार्लरसमेत सञ्चालन गरेकी छन् । यसका साथै उनले हालसालै अर्गानिक खाद्यान्नको पसलसमेत सञ्चालनमा ल्याएकी छन् जहाँ देशका विभिन्न भागबाट आएका कच्चा पदार्थको प्रशोधन तथा प्याकेजिङ गरी बिक्री वितरण गरिन्छ । महिलाको सीप र श्रमको प्रवद्र्धन गर्न व्यवसाय सञ्चालन गरेको बताउने शान्ति आफूले सञ्चालन गरेको व्यवसायबाट तीन जनाले प्रत्यक्ष रोजगारी पाएकोमा खुसी व्यक्त गर्छिन् ।

131988324_3459294264125136_260773631847178239_n

सामाजिक कार्यमा रहेको अभूतपूर्व रुचिका कारण शान्तिले ‘साथी फाउन्डेसन’ नामक संस्थासमेत सञ्चालन गरिरहेकी छन् । पाँच वर्षअघि स्थापित यो संस्था महिलाको अधिकार संरक्षण गर्दै सामाजिक न्याय सहितको समतामूलक समाज निर्माणका लागि कृयाशील रहेको गजमेरको भनाइ छ । यस संस्थाले मूलतः द्वन्द्वपीडित महिलालाई न्याय दिलाउनका लागि सहजीकरण गर्दै आएको शान्ति बताउँछिन् । द्वन्द्वपीडित महिलाहरुको क्षमता अभिवृद्धि गरी उनीहरुलाई राज्यको नीति निर्माण तहमा पहुँच दिलाउने काम साथी फाउन्डेसनले गरिरहेको गजमेरको जिकिर छ । संस्थाले उनीहरुको क्षमता अभिवृद्धि गरी द्वन्द्वपीडित अन्य महिलाबारे रिपोर्टिङ गर्न लगाई त्यसबाट प्राप्त तथ्यका आधारमा न्यायिक निरुपणको कार्यमा सहजीकरण गर्ने गरेको भन्दै उनले संस्थाले समस्यामा परेका दलित, महिला तथा बालबालिकाको जीवनस्तर उकास्नका लागि आवश्यक खाना, आवास, शिक्षाजस्ता आधारभूत सुविधासमेत निःशुल्क उपलब्ध गराउँदै आएको बताइन् ।

हिंसापीडित महिलालाई न्याय दिलाउन अन्तिम समयसम्म आवश्यक सबै प्रकारका सहयोग संस्थाले उपलब्ध गराउँदै आएको उनी बताउँछिन् । संस्थाले पीडित व्यक्तिसँग कुनै शुल्क नलिने भएकाले संस्थाको खर्च व्यवस्थापनका लागि काठमांडौमा युरोपेली युनियनमार्फत् सञ्चालित द स्टोरी किचन नामक गैरसरकारी संस्थासँग आर्थिक स्रोतको साझेदारी गर्दै आएको छ । यसका साथै उनी परोपकारी संस्था माया घरको सदस्यका रुपमा समेत कार्यरत रहेकी छन् । सो संस्थामार्फत् दुई सय ५० जनाभन्दा बढी महिलाको उद्दार गरिसकिएको उनको भनाइ छ । महिला सञ्जालकी नगर सचिवका रुपमा समेत कार्यरत रहेकी शान्तिले सो संस्थामार्फत् यौन हिंसापीडित महिला तथा बालबालिकाको पक्षमा जाहेरी दर्ताका साथै उनीहरुको पुनस्र्थापनामा सहयोग गर्दै आएकी छन् । बलात्कारको आरोपमा संलग्न रही हाल जिल्ला अदालत सुनसरीको आदेशमा रिहा भएका सिद्धबाबा भनिने कृष्णदास गिरीका विरुद्धको आन्दोलनमा समेत उनको महत्वपूर्ण भूमिका रहेको थियो । सिद्धबाबाको रिहाइप्रति असन्तुष्टि व्यक्त गर्दै उनले राज्यले अपराधीलाई बचाएको टिप्पणी गरिन् ।

17190900_1040499332722416_7165296211371952724_n

सामाजिक सेवाका साथै शान्तिको राजनीतिक जीवन पनि उत्तिकै सक्रिय रहेको छ । विद्यालय तहमै युवा संघमा आबद्ध भई राजनीतिक यात्रा सुरु गरेकी उनी हाल नेपाल कम्युनिस्ट पार्टीकी नगर सदस्य हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरले संघीय संसद्को प्रतिनिधिसभा भंग गरेपछि त्यसप्रति गम्भीर असहमति प्रकट गर्दै प्रचण्ड माधव खेमालाई समर्थन गरेकी उनले संसद पुनस्र्थापना हुनुपर्ने आफ्नो मान्यता भएपनि सरकारको बदनियतका कारण सोको सम्भावना भने न्यून हुँदै गएको धारणा राखिन् । जनयुद्ध कालमा तत्कालीन माओवादीका विभिन्न गाउँ कमिटिहरुमा आबद्ध रही सरकारविरुद्ध आन्दोलनमा सहभागी भएकी शान्तिलाई सोही सिलसिलामा सेनाले नियन्त्रणमा पनि लिएको थियो । २० दिनसम्म सैनिक हिरासतमा बिताएकी उनले त्यसपछि लामो समय भूमिगत भई पार्टीका लागि काम गरिन् । पार्टीका अध्यक्ष प्रचण्डप्रतिको उनको निकटता हालसम्म जारी छ ।

26219489_1299934866778860_2142151571539331394_n

जीवनका अन्य सबै आयामहरुमा संघर्ष गरी सफलता प्राप्त गर्न सफल शान्तिको व्यक्तिगत जीवन भने अपेक्षाविपरीत रहेको छ । विवाहपूर्व आमाबाबुले आफ्ना आवश्यकता पूरा गरिदिने दायित्वबोध गरेको भएपनि विवाहपश्चात् आफ्ना श्रीमानले भने आफूलाई अपेक्षाकृत सहयोग नगरेको उनको दुखेसो छ । श्रीमानको अपहेलना र तिरष्कारको सिकार भएकी शान्तिका लागि वैवाहिक जीवन एक कारावास सिद्ध भयो । श्रीमानका अनेक यातनालाई सहेर भएपनि सामाजिक बाध्यताका कारण दशौँ वर्षसम्म सम्बन्धलाई निरन्तरता दिएकी उनले असह्य भएपछि गत वर्ष सम्बन्धविच्छेद गरेको बताइन् । पाँच वर्षसम्म एउटै घरमा पनि अपरिचितझैँ गरी बस्नुपरेपछि पीडादायी वैवाहिक जीवनमा पूर्णविराम लगाउने निर्णयमा पुगेको उनको कथन छ । एक छोराकी आमासमेत रहेकी शान्ति हाल आफ्नै बलबुताका भरमा जीवनको यात्रा अगाडि बढाइरहेकी छन् । प्रगतिका लागि समयको सदुपयोग गरी सकारात्मक सोचका साथ परिवर्तनको मार्गमा अग्रसर हुनुपर्ने उनको सुझाव छ । उनको विचारमा आत्मविश्वास नै सफलताको सुत्र हो ।

11168146_693572407415112_7568511331682958817_o 87473751_2416484681790534_8553102107815706624_o