इटहरीः पछिल्लो समयमा केही डान्सिंग रमाइला गीतहरु चलिरहेको बेला एउटा फरक धारको गीत के नै गल्ति को भिडियो सार्वजनिक भएको छ ।

गीतकार नवराज कालिकोटेको सरल र मिठासपूर्ण शब्द संयोजनले भरिएको के नै गल्ति नामक गीत मा बिजय आफैले स्वर र संगीत भरेका छन् भने संगीत सम्योजन अमृत ल्वागुनले गरेका छन् । शब्द लेखन सरल भए पनि गीतको संगीत र संगीत सम्योजन पक्षले गीतलाई निकै मार्मिक बनाएको छ । नवराज कालिकोटे संगीतिक क्षेत्रमा त्यति सुनिएको नाम त हैन तर पनि उनको सानैदेखिको यो क्षेत्र प्रतिको माया र झुकावले आज उनीभित्र भएको कलाकारितालाई यही गीतमार्फत् सम्पूर्णमाझ प्रष्ट्याउन सफल भएका छन् ।

दीपेन भट्ट दक्षको निर्देशन तथा फराज अर्पणले छायाँकन गरेको यस गीतको भिडियोमा स्वयम् नवराज कालिकोटे र सुजिता रसाइलीको साथमा विनोद केसीको पनि अभिनय रहेको छ । भिडियोमा गीतको भाव अनुसार नवप्रतिभा भए तापनि नवराज, सुनिता र विनोदले न्याय दिएका छन् । एक्का कम्पनी नामक यूट्युब च्यानलमार्फत् गीत सार्वजनिक भइसकेको छ ।