इटहरीः दशैंअघिको तथा असोज महिनाको अन्तिम सेयर कारोबार हुने दिन आजको सेयर बजारको सूचक नकारात्मक रहे पनि कारोबार रकम भने अघिल्ला ३÷४ दिनको भन्दा बढेको हुनाले लगानीकर्ताले बजार बढ्ने आशमा दशैं मनाउने भएका छन् ।

आज किनेको सेयरको भुक्तानी दशैंपछिमात्रै गर्नुपर्ने हुँदा बजारमा बिक्री चाप पनि बढी देखिएकाले बजारको नागबेली चालसँगै कारोबार रकम बढेको धेरै लगानीकर्ताले अनुमान गरेका छन् ।

बजार बढेर १२४६ अङ्कसम्म पुगे पनि पछि घट्ने र बढ्ने क्रम हुँदाहुँदै अन्त्यमा आएर बजार तीव्र गतिमा झर्दै राताम्य भएको हो ।

साढे ३३ करोडको कारोबार
आज १ सय ५२ कम्पनीको ३३ करोड ५८ लाख ६५ हजार ५ सय २३ रुपैयाँको सेयर किनबेच भएको छ । १४ लाख ६४ हजार ८ सय ९४ कित्ता सेयर ४ हजार ४ सय ८ पटक किनबेच भएका थिए ।

५ सूचक घट्दा ५ सूचकमा हरियाली
आज कारोबार भएका १० वटा सूचकमध्ये ५ वटामा रातो पोतिँदा ५ वटामा हरियाली छाएको छ । सबैभन्दा धेरै उत्पादनमूलक समूहमा १ दशमलव १० प्रतिशतको चमक आउँदा जीवन बीमा समूह ० दशमलव ०५ प्रतिशतले मात्रै हरियो भएको छ ।
अन्य समूहमा सबैभन्दा धेरै ० दशमलव ६८ प्रतिशतको गिरावट आउँदा सबैभन्दा कम बैंकिङ समूहमा ० दशमलव ०४ प्रतिशतले गिरावट आएको छ ।

उच्च मूल्य बढ्नेमा सामुहिक लगानी कोष
आजको बजारमा उच्च सेयरमूल्य बढ्ने कम्पनीमा सामुहिक लगानी कोष अघि देखिएका छन् । ४ प्रतिशतभन्दा बढी सेयरमूल्य बढ्ने ४ वटा कम्पनीमध्ये ३ वटा त सामुहिक लगानी कोष नै रहेका छन् । पहिलो, तेस्रो र चौथो स्थानमा म्युचुअल फन्ड (सामुहिक लगानी कोष) रहेका छन् ।

नेपाल इन्भेस्टमेन्ट बैंकको समृद्धि फन्डको सबैभन्दा धेरै ७ दशमलव २६ प्रतिशत मूल्य बढ्दा महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको ५ दशमलव ६९ प्रतिशतले मूल्य बढेको छ । मूल्य बढ्ने क्रममा तेस्रो र चौथो स्थानमा क्रमश नेपाल इन्भेस्टमेन्ट बैंकको प्रगति फन्ड र लक्ष्मी इक्विटी फन्ड रहेका छन् । ती कम्पनीको क्रमश ५ दशमलव ०३ र ४ दशमलव ०४ प्रतिशतले मूल्य बढेको छ ।

मूल्य घट्नेमा २ सय रुपैयाँभन्दा कम मूल्य भएका कम्पनी
आजको बजारमा मूल्यमा उच्च गिरावट आउने कम्पनीमा सेयर मूल्य २ सय रुपैयाँभन्दा तल रहेका कम्पनी रहेका छन् । आइपिओको मूल्यबाट पनि २० प्रतिशत तल सेयर मूल्य आइसकेको नेसनल हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै ३ दशमलव ६६ प्रतिशतले मूल्य घटेको छ । सेञ्चुरी कमर्सियल बैंकको ३ दशमलव ०५ प्रतिशतले सेयरमूल्यमा गिरावट आउँदा लुम्बिनी विकास बैंकको सेयरमूल्यमा २ दशमलव ९८ प्रतिशतको गिरावट आएको छ ।

२ करोडमाथि कारोबार गर्ने ३ वटा बैंक
सोमबार २ करोडभन्दा बढी रुपैयाँको सेयर कारोबार गर्ने जम्मा ३ वटा बैंक परेका छन् । सबैभन्दा धेरै प्रभु बैंकको २ करोड ५४ लाख २६ हजार ८ सय २४ रुपैयाँको सेयर किनबेच हुँदा मेघा बैंकको २ करोड २७ लाख ११ हजार ८ सय ९२ रुपैयाँको सेयर किनबेच भएको थियो । एनएमबी बैंकको २ करोड २३ लाख ५१ हजार ९ सय ७७ रुपैयाँको सेयर किनबेच भएको थियो ।

सेयर सङ्ख्यमा मेघा अघि
आज सबैभन्दा बढी मेघा बैंकको १ लाख ९ हजार ६ सय ४० कित्ता सेयर किनबेच हुँदा प्रभु बैंकको १ लाख ४ हजार ५ सय २८ कित्ता सेयर किनबेच भएको थियो । सिटी एक्सप्रेस फाइनान्सको ७२ हजार ८ सय कित्ता सेयर किनबेच भएको थियो ।

कालिका पावरको धेरै पटक कारोबार
आज धेरै पटक कारोबार हुने कम्पनीमा भने यसै साता नेप्सेमा सूचीकृत भएको कालिका पावर कम्पनी लिमिटेड परेको छ । सो कम्पनीको ३ सय ५० पटक कारोबार हुँदा नाडेप लघुवित्त वित्तीय संस्थाको २ सय ९६ पटक र मेघा बैंकको २ सय ५७ पटक कारोबार भएको थियो ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण १४ खर्ब ८१ अर्ब कायम भएको छ ।