विराटनगरः नोबेल शिक्षण अस्पतालको प्रायोजनमा सञ्चालित १ नम्बर प्रदेशस्तरीय ‘नोबेल मिस्टर एण्ड मिस थारु आइकन’ को उपाधि सिवानी चौधरी र तेजेन्द्र विश्वासले जितेका छन् । विराटनगरमा भएको फाइनलमा उत्कृष्ट छनोट हुँदै सिवानीले मिस थारु आइकनको ताज पहिरिइन् भने तेजेन्द्र मिस्टर थारु आइकन घोषित भए ।
१ सय १८ प्रतिष्पर्धीलाई पछि पार्दै विराटनगर–८ स्थित मधुमारा बुद्धचौककी सिवानी र विराटनगर–३ पिपलचोकका तेजेन्द्रले प्रदेशस्तरीय थारु आइकनको उपाधि जितेका हुन् । कार्यक्रममा पूर्व मिस नेपाल माल्भिका सुब्बाले सिवानीलाई मिस थारु आइकनको ताज पहिराइदिएकी थिइन् । मिस्टर र मिस थारु आइकन दुवैलाई नोबेल शिक्षण अस्पतालको तर्फबाट प्रबन्ध निर्देशक इन्दिरा शर्माले ५०/५० हजारको चेक प्रदान गरिन् ।
प्रतियोगितामा उदयपुरको गाईघाटकी सिर्जना चौधरी मिस फस्ट रनरअप र विराटनगर कञ्चनबारीका सिजन चौधरी मिस्टर फष्ट रनरअप घोषित भए । त्यस्तै, इटहरीकी अङ्किता चौधरी मिस सेकेण्ड रनरअप र सुनसरीको बर्जुका सुवास चौधरी मिस्टर सेकेण्ड रनरअप बनेका छन् ।
नोबेल शिक्षण अस्पतालको तर्फबाट फस्ट रनर अपलाई ३० हजार र सेकेण्ड रनरअपलाई २० हजारका दरले पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगिताको फाइनलमा माल्भिका सुब्बा, साजित आलम, पर्शुराम चौधरी, भोला चौधरी र तुलसी पोख्रेल निर्णायकको भूमिकामा थिए । थारु समुदायका युवा युवतीको प्रतिभा उजागर गर्ने उद्देश्यले थारु कला केन्द्रले आयोजना गरेको थारु आइकन करिब २ महिनासम्म चलेको थियो ।
डा. शर्माको घोषणामा उपप्रधानमन्त्री गच्छदारको समर्थन
नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले थारु समुदायका युवा युवतीको प्रतिभा उजागर गर्नका लागि गरिने मिस्टर एण्ड मिस थारु आइकनलाई देशव्यापी रूपमा सञ्चालन गर्न सहयोग गर्ने घोषणा गरेका छन् ।
१ नम्बर प्रदेश स्तरीय ‘नोबेल मिस्टर एण्ड मिस थारु आइकन’ सञ्चालनका लागि मुख्य प्रायोजक रहेका डा. शर्माले थारु आइकन फाइनल कार्यक्रमका अवसरमा यस्तो घोषणा गरेका हुन् ।
डा.शर्माले भने, ‘देशभरका गाउँ–गाउँमा ओझेल परेका यस्ता प्रतिभालाई उजागर गर्ने काममा सहयोग गर्न तयार छु ।’ डा. शर्माको यो घोषणालाई पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले स्वागत र समर्थन जनाएका छन् । कार्यक्रममा बोल्दै गच्छदारले भने, ‘थारु समुदायका लागि डा. सुनिल शर्माले गरेको यो घोषणा स्वागत र सम्मानयोग्य छ ।’ सम्बोधनका क्रममा पटक–पटक डा. शर्माको नाम उच्चारण गर्दै नेता गच्छदारले डा. शर्माको घोषणाको खुलेर प्रशंसा गरेका थिए ।
डा. शर्माले थारु आइकनमा सहभागीमध्ये एक जनालाई स्टाफ नर्स निःशुल्क पढाउने भनी यसअघि नै घोषणा गरिसकेका छन् ।