काठमाडौँः सरकारले देशैभरिका ६० अस्पतालमा एक २० खोप केन्द्र निर्माण गरेको छ ।
कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोप काठमाडौँ उपत्यकामा १७ खोप केन्द्रबाट दिइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे खोपको भर्चुअल शुभारम्भ गर्नेछन् । स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका निर्देशक डा. झलक शर्मा गौतमका अनुसार काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहनेछन् । काठमाडौँमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौंँ मेडिकल कलेज जोरपाटी, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, सहिद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, सशस्त्र प्रहरी बलम्बु अस्पताल, सहिद गङ्गालाल अस्पताललगायत छन् ।
ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किष्ट मेडिकल कलेज र आनन्द वन अस्पतालमा खोप केन्द्र रहनेछन् । यस्तै, भक्तपुरमा भक्तपुर अस्पताल र कोरियामैत्री अस्पताल रहनेछन् । उनले खोप केन्द्र बनाइएका उपत्यकाका अस्पतालको आज निरीक्षणसमेत गरिएको बताए । खोपको शुभारम्भ समारोहमा सातै प्रदेशमा रहेका ६२ अस्पताल र एक सय २० भन्दा बढी खोप केन्द्रबाट एकैसाथ गरिनेछ । यस्तै यही माघ १८ गतेभित्र ७७ जिल्लाका तीन सय खोप केन्द्रमार्फत खोप प्रदान गरिने खोप शाखाको तयारी छ । भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको हो । खोप शाखाका निर्देशक डा. गौतमले सबै प्रदेशमा खोप पुगिसकेको बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान सुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्नेछ । सो चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिनेछ । सरकारले प्रथम चरणको खोप सक्नुभन्दा अगाडि अर्को चरणको खोप ल्याउने तयारी गरिएको जनाएको छ । कोभिसिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका नामक औषधि उत्पादक कम्पनीले संयुक्तरूपमा विकास गरेका हुन् । भारतको सेरम इन्स्टिच्युटले खोप उत्पादन गरेको हो ।
ककसले पाउँछन्
पहिले चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयम्सेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयम्सेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवम् कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइनेछ । नेपालमा अहिले कोभिड–१९ को सङ्क्रमण दुई लाख ६९ हजार सात सय ८९ जनामा देखिएको छ । सङ्क्रमणबाट दुई हजार ११ जनाको निधन भइसकेको छ । -रासस




















