इटहरीः २०७४ सालमा भएको प्रदेशसभा सदस्यको मतदान नै नेपालमा अन्तिम पटक भएको निर्वाचन हो । त्यसपछि कुनै पनि निर्वाचन भएको छैन ।
नेपाल संघीयतामा गएकाले त्यही निर्वाचनले पाँच वर्षको लागि स्थायी सरकारको खाका तयार गर्यो । संघीय संसदको तल्लो सदन अर्थात् प्रतिनिधिसभामा नेपाल कम्युनिष्ट पार्टीले दुई तिहाइको सरकार बनाउन सफल भयो । प्रदेशसभामा पनि अधिकांश ठाउँमा नेकपाकै प्रदेशप्रमुख, मुख्यमन्त्री र मन्त्रीहरु छन् । अस्थायी गठबन्धबाट औपचारिक एकीकरणमा गएका नेपालका दुई ठूला पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केपी ओलीको प्रधानमन्त्रीत्वमा सरकारको बागडोर सम्हाले । तर ३ वर्ष मात्र पुग्दा यी दुई बीचको गठबन्धन टुट्यो । दुई पार्टी दुई धारमा नै परिणत भए । विभाजन हुनुको मुख्या कारण थियो, प्रधानमन्त्रीले गत पुस ५ गते गरेको प्रतिनिधिसभाको विघटन र मध्यावधि चुनावको घोषणा ।
यही कारणले निर्वाचन आयोगमा अहिले चटारो थपिएको छ । २०७८ वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा भइसकेको छ । त्यसैका लागि अहिले निर्वाचन आयोगमा मतदाता नामावली संकलन गर्ने, निर्वाचन क्षेत्र तथा मतदान केन्द्रहरुको परीक्षण गर्ने र मदतादा नामावली सच्याउने तथा दाबी विरोध गर्ने काम तिव्र रुपमा भइरहेको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीमा पनि अहिले चुनावको चटारो सुरु भइसेको छ । सुनसरीमा मतदान केन्द्र र मतदान केन्द्रको निधारण गर्ने काम सम्पन्न भएको सुनसरीका जिल्ला निर्वाचन अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार त्योसँगै गत आइतबार मतदाता नामावली अद्यावधिक र दाबी विरोध गर्ने कार्यक्रमअन्तर्गत हरेक स्थानीय तहबाट एक जना सहायक नामदर्ता अधिकारीलाई तालिम दिएर सबै स्थानीय तहमा खटाउन लागिएको छ । उनले सुनसरीमा शान्तीपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग लागेकाले सम्पूर्ण सहयोग गर्न पनि अनुरोध गरे ।
इटहरीमा एक लाख नौ हजार पाँच सय मतदाता रहेको प्रारम्भिक अनुमान
निर्वाचनको मिति तय भएसँगै सुनसरीमा प्रारम्भिक मतदाता संख्या परिचान गर्ने काम जिल्ला निर्वाचन कार्यालय सुनसरीले सम्पन्न गरेको छ । सो सर्वे अनुसार इटहरीमा मात्रै झण्डै एक लाख १० हजार मतदाता रहेको आँकलन गरिएको छ । आयोगका अनुसार इटहरीमा एक लाख नौ हजार पाँच सय २२ जना मतदाता रहेका छन् । अहिले जिल्लामा मतदाता नाम दर्ता अद्यावधिक गर्ने र दाबी विरोध गर्ने कार्यक्रम सुरु भएको छ । यसले यो सँख्यामा घटबढ हुनसक्ने आयोगको भनाइ छ । गत ११ गते अर्थात् आइतबारदेखि नै सुरु भएको यो कार्यक्रम इटहरीसहित सुनसरीका सबै पालिकामा सुरु भएको आयोगका सुनसरी जिल्ला सूचना अधिकारी अजय मिश्रले जानकारी दिए ।
२०७४ मा भएको निर्वाचनमा इटहरीमा ९० हजार नौ सय २७ जना मतदाता रहेका थिए । आयोगका अनुसार त्यसपछि १८ हजार पाँच सय ९५ जना मतदाता थपिएका हुन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रमाणीकरण गरेर मध्यावधि चुनावको घोषण गरेकोले हाल नयाँ मतदाता नामवली संकलनलाई आयोगले बन्द गरिसकेको छ । यद्यपि ३ वर्षसम्म अन्य कारणले मतदातामा तलमाथि हुनसक्ने आयोगको भनाइ छ । केही मात्रामा मतदाताको संख्या तलमाथि भए पनि यो संख्यामा खासै अन्तर नआउने जिल्ला निर्वाचन अधिकारी पौडेलको भनाइ छ ।
इटहरीका यी मतदाताले २० मतदान केन्द्रका ९७ मतदानस्थलमा मतदान गर्ने छन् । आयोगले दिएको जानकारी अनुसार इटहरीका २० मदतान केन्द्रमध्ये गाविस कार्यालय भवन हाँसपोसामा ३५ सय ८९ जना, महेन्द्र मा.वि शान्तिनगरमा ६६ सय ४२ जना, शान्ति प्रा.वि शान्तिनगरमा ३ हजार ७१ जना, सरस्वती मा.वि. बौकाझोडामा ३५ सय ५१ जना र नगरपालिका कार्यालय इटहरीमा नौ हजार एक सय ८९ जना मतदाता रहेको प्रारम्भिक अनुमान गरिएको छ । यस्तै ज्योति मा.वि हलगडामा दश हजार चार सय २४ जना, जनता मा.वि इटहरीमा ४६ सय ३० जना, लक्ष्मी मा. वि. बज्राहामा २७ सय ८९ जना, सरस्वती मा.वि गैसारमा ५१ सय ७२ जना, जनता मा.वि को आधारभूत विद्यालयमा ४४ सय ९२ जना, ज्ञानोदय आ.वि खनारमा २६ सय ६८ जना, भानु आधारभूत विद्यालय इटहरीमा २१ सय २४ जना, शारदा मा.वि खनारमा १७ सय ६७ र मदन आश्रित आधरभूत विद्यालय इटहरीमा ३७ सय ६२ जना मतदाता रहेको प्रारम्भिक अनुमान आयोगको रहेको छ ।
त्यसैगरी आयोगको प्रारम्भिक अभिलेख अनुसार शान्ति सिर्जना मा.वि. गैसारमा १६ सय ५३ जना, सार्वजनिका आ.वि. लोहनीमा एक हजार पाँच सय ९२ जना, शम्भुनाथ मा.वि. एकम्बामा १७ सय ९६ जना, सरस्वति जब्दी नि.मा.वि. एकम्बामा २५ सय ५४ जना, जब्दी आ.वि. जब्दीमा १८ सय ४७ जना, जनजागृति मा.वि. लविपुरमा २५ सय १९ जना, पकली मा.वि. पकलीमा ३१ सय जना, पञ्चायत मा.वि. डकाहामा तीन हजार ३५ जना, पञ्चायत रजत जयन्ती मा.वि.मा तीन हजार ६२ जना, जब्दि मा.वि. अमाहामा २१ सय १८ जना र जनसहयोग मा.वि. तरहरामा ७७ सय ३९ जना रहेका छन् ।