इटहरीः कोरोना महामारीका बेला ठप्प भएको चलचित्र हल व्यवसायको कारोबार अझ बढ्न सकेको छैन ।

कोरोना रोकथामका लागि लागु गरिएको एक सय २० दिन लामो लकडाउनमा यो क्षेत्रसँगै अधिकांश क्षेत्रको धारासयी बने । तर त्यसपछि भएको निषेधाज्ञामा धेरै व्यवसाय पुनः सञ्चालनमा आए । यो समयमा पनि चलचित्रहरु चल्न सकेनन् । अहिले केही मात्रामा अवस्था सामान्य हुँदै गएको तर नयाँ चलचित्रहरु नबन्दा पुनः मारमा नै परेको इटहरीको इलाइट सिनेमा हलका व्यवस्थापक नवराज केसीले जनकारी दिए । कोरोनाका बेला व्यवसाय ठप्प भएको तर अहिले विस्तारै दर्शकहरु हलमा आउँदा पनि नयाँ चलचित्रहरु रिलिज नभएकाले झन् मारमा परेको उनको भनाइ छ । ‘कोरोनाले हामी अतिप्रभावित क्षेत्रमा पर्दछौँ । अहिले बिस्तारै हलमा दर्शक आउन थलेका छन् । तर पनि नयाँ फिल्महरु नबन्दा अवस्था लकडाउनकै जस्तो छ ।

हामीले पुरानै लयमा हल खोल्न सकेका छैनौँ । दिनमा एक ‘सो’ मात्र छ अहिले’, उनले भने । उनले छाँयांकन सकिएका नेपाली चलचित्र धमाधम रिलिज भए आफूहरुलाई राहत हुने बताए । फेब्रुअरी महिनाबाट हलमा नयाँ फिल्मको चाप बढ्ने उनको विश्वास छ । उनले सरकारको नजरमा मनोरञ्जन क्षेत्र नपरेको पनि गुनासो गरेका छन् । सरकारले चलचित्र क्षेत्रलाई पैसा बढी भएर फजुल खर्च गर्ने ठाउँ सम्झने गरेको उनको भनाइ छ । अन्य अत्यावश्यक क्षेत्रजस्तै मानोरञ्जन क्षेत्रलाई पनि सरकारले उद्योगका रुपमा विकास गरेर समान व्यवहार गर्नुपर्ने उनको माग छ । इलाइट सिनेमा हलमा एक पटकमा तीन सय ३० जना अट्नसक्ने दुई वटा हल छन् । सामान्य सिटमा बसेर चलचित्र हेर्न यहाँ नेपालीको लागि दुई सय रुपैयाँ र हिन्दी चलचित्रको लागि दुई सय ५० तिर्नु पर्दछ ।

यदि भि.आइ.पी सिटमा बस्ने हो भने चार सय रुपैयाँ तिर्नुपर्छ । पहिला खचाखच हुने यो हलमा दिनको एक सो राति चल्ने हुँदा एउटै मात्र हल भरिन पनि हम्मेहम्मे हुन्छ । हल पूर्ण रुपमा नखुल्दा यहाँका कर्मचारीले पनि रोजगारी गुमाएका छन् । लकडाउनअगाडि १३ जना कर्मचारी रहेकामा हाल चार जना मात्र कर्मचारीले धानेका छन् ।