विराटनगरः आउने बुधबार तय भएको प्रदेश १ को प्रदेशसभा बैठकको तयारी पूरा भएको छ । प्रतिनिधिसभा विघटन, नेकपामा देखिएको विवाद र बद्लिएको राजनीतिक परिवेशका कारण प्रदेशसभामा के होला भन्ने आम जिज्ञासा तथा बीच बैठक सुरु हुन लागेको हो । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको पृष्ठभूमिमा बस्न लागेको प्रदेशसभा बैठकलाई चासोका साथ हेरिएको छ ।
वर्षे अधिवेशन कोरोना संक्रमणका कारण स्क्रिन शेयरिङमार्फत दुई हलमा सांसदलाई राखेर सम्पन्न गरिएको थियो । तर, यो पटक भने कोरोना संक्रमणको दर घटेको देखिएकोले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्दै साविककै हलमा हुने प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले बताए । पराजुलीले भने,“कोरोनाका कारण विगतमा स्क्रिन शेयरिङ गरी तल्लो र माथिल्लो हलमा बैठक संचालन गरिएको थियो । तर यो पटक तलको हलमा गर्दैछौं ।”े मिडिया, मन्त्रालयका कर्मचारी तथा आयोगका पदाधिकारीहरुको लागि माथिल्लो हलमा स्क्रिनमा बैठक हेर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।
नेकपाका दुई समूहले एकले अर्कोलाई कार्वाही गर्ने र दलको नेतासम्म फेर्ने घोषणा भएको छ । तर, बैठकस्थलमा भने नेकपाका दुई अलग समूहका लागि अलग अलग हारमा कुर्सीको प्रबन्ध भने भएको छैन । सचिव पराजुलीले भने,“नेकपाकै सरकार रहेकोले विगतजस्तै हामीले सत्तापक्ष र विपक्षी दलका माननीय सांसदको लागि कुर्सीको प्रबन्ध गरेका छाँैं ।” प्रमुख विपक्षी कांग्रेस, त्यसपछि जनता समाजवादी अनि राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सांसद बस्ने कुसीको प्रबन्ध भएकोे सचिवालयले जनाएको छ ।
नेकपामा देखिएको विवादबीच कारबाही गरिएका र दलका नेता फेरिएको विवरण उल्लेख भएका पत्र सचिवालयमा दर्ता भएपनि पार्टी एक रहेकोले नेकपाका सबै सांसदलाई सत्तापक्षकै लाइनमा राख्ने प्रबन्ध गरिएको प्रदेशसभा सचिव पराजुलीले जानकारी दिए । उनले भने,“विगतमा जस्तो प्रबन्ध थियो त्यसमा फेरबदल गरिएको छैन ।” प्रदेशसभा बैठकमा सुरक्षाका लागि खटिने मर्यादापालकको संख्या थप गरिएको छ । पहिले ४७ जना मर्यादापालक खटिने गरेकोमा १० जना थप भएका छन् । बैठक कक्षमा हुनसक्ने सम्भावित घम्साघम्सी र कुर्सी हानाहान गर्नबाट सांसदलाई रोक्ने उद्देश्यले सांसद बस्ने सबै कुर्सीलाई फलामको पाताले जोडेर ‘वेल्डिङ’ गरिएको छ ।
प्रदेशसभा बैठक संचालन हुनु अगावै सभामुख प्रदिपकुमार भण्डारीले उत्पन्न वर्तमान परिस्थिति र कानुनी व्यवस्थाबारे कानुन व्यवसायीसँग पनि छलफल गरेका छन् । भण्डारीले भने,“संविधानद्वारा प्रदेशलाई प्रदत्त अधिकार र प्रदेशसभा नियमावलीअनुसार नै बैठक सञ्चालन हुनेछ । राजनीतिक रुपमा उठेका विवादको निरुपण गर्ने जिम्मा भने राजनीतिक दलको हो ।”नेकपाका दाहाल–नेपाल र ओली समूहको तर्फबाट एकले अर्को समूहका नेतालाई हटाउने अनि कारबाही गर्ने क्रम चलेको कार्यव्यवस्था परामर्श समितिमा विवाद हुन सक्ने भएकोले बैठक के गर्ने भन्ने तय भएको छैन । तर, नेकपा र विपक्षी दलले बुधबार संसदीय दलको बैठक आयोजना गरेका छन् । नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले विगत झैं संसदीय दलको बैठक आयोजना गरिएको जानकारी दिएका छन् । ओली समूहका राजभण्डारीले दलको बैठकको अध्यक्षता संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईले नै गर्ने बताए । भने,“विगतझैं यो पटक पनि बैठक बस्नेछ ।” दाहाल–नेपाल समूहले पनि बैठक विगतझैं बस्ने जनाएको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले कांग्रेसले पनि संसद बैठकअगावै संसदीय दलको छलफलबाट आफ्ना एजेन्डा तय गर्ने जानकारी दिँदैं भने, “बद्लिएको परिवेशमा कांगे्रस कसरी अगाडि बढ्ने भन्ने विषय तय गर्नेगरी बैठक बस्दैछौं ।” प्रदेश १ मा नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका एक एक जना सांसद छन । नेकपाभित्र भने पछिल्लो पटक उत्पन्न आन्तरिक विवादको परिणामस्वरुप सांसदको संख्या आफ्नो समूहमा बढी रहेको दुवै खेमाको जिकिर छ ।