दुहबी: दुहबी सांस्कृतिक समूहले दुहबी सांस्कृतिक साँझ गर्ने भएको छ ।
शनिबार सांस्कृतिक समूहले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत् असोज ३० गते फूलपातीका दिन सांस्कृतिक साँझ कार्यक्रम हुने जानकारी दिइएको हो ।
सो सांस्कृतिक साँझ कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरूका साथै स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने जानकारी दिइएको छ । सांस्कृतिक कार्यक्रमका प्रमुख आकर्षणहरू स्मृति ब्याण्ड, गायिका मीना निरौला, गायक सौरभ श्रेष्ठ रहेका छन् । दुहबी क्षेत्रभित्र छरिएर रहेका विभिन्न जातजातिहरूका कला, संस्कृति, नृत्य तथा लोकभाका जगेर्ना गर्ने उद्देश्यका साथ २०५६ सालमा स्थापना भएको समूहले कार्यक्रम गर्न लागेको अध्यक्ष रविकुमार कार्कीले बताए । दुहबी सांस्कृतिक साँझ सम्पन्न गर्नका लागि २ लाख ७६ हजारको आयव्यय समेत प्रस्तुत गरिएको छ । सांस्कृतिक साँझका लागि न्यू खुसी मोबाइल सेन्टरले ८० थान टिसर्ट प्रदान गरेको छ ।
सांस्कृतिक साँझ कार्यक्रमको संयोजन दुहबी नगरपालिकाले गरेको छ । मुख्य प्रायोजक एशियन थाइ फुड्स रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।