इटहरीः गएराति सुनसरीको धरानस्थित बीपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएका इटहरी निवासी संगीतज्ञ राम धामीको आज अन्त्यष्टि गरिएको छ ।

इटहरीमा रहेको बुढी गंगाजमुना आर्यघाटमा उनको अन्त्यष्टि गरिएको हो । दुई छोरीका बुबा धामी केही समयअगाडि अस्पताल भर्ना भएका थिए । उनको निधनले नेपाली सांगितिक क्षेत्रलाई ठूलो घाटा पुगेको इटहरीका कलाकर्मीहरुले बताएका छन् । उनीहरुले देशले एक धरोहर गुमाएको धारणा राखे । गायक, संगीतकार तथा सर्जक दुर्गा पराजुलीले धामी इटहरीमा मात्र नभएर देशमै सांगीतिक क्षेत्रमा गहिरो अध्ययन तथा दखल राख्ने सर्जक भएको बताए ।

धामी गीत ‘कम्पोज’ गर्न महिर रहेको पराजुलीले जानकारी दिए । रेडियो नेपालले नै थारु भाषाको पहिलो गायकको रुपमा धामीलाई सम्मान गरेको स्मरण गराउँदै पराजुलीले प्रदेश १ को हकमा संगीतको दरिलो खम्बा तथा हस्ति ढलेको महसुस भएको बताए । एक हस्तिलाई गुमाउँदा आफू पनि भावविह्वल भएको उनको कथन छ । धामीका बाल्यकालदेखिका साथी तथा सांगीतिक क्षेत्रमा धामीका चेला बनेका बाबुराम प्रधानले आफूलाई बाल्यकालदेखि नै हरेक कुरामा रामले सहयोग गरेको जानकारी दिए । उनले रामले आफूलाई एउटा गीती एल्बम नै बनाउन सहयोग गरेको स्मरण गरे । आफूले रामको जीवन भोगाइको हर क्षण देखको भन्दै उनले धामीलाई सरल, मिजासिलो, कर्तव्यनिष्ठ र लगनशील व्यक्तिको रुपमा सँधै सम्झिरहने प्रधानले बताए ।

संगीतज्ञ तथा उनलाई बाल्यकालदेखि नियाल्दै आएका गणेश रिजालले आफूलाई संगीतमा लाग्नलाई रामले धेरै प्रेरणा प्रदान गरेको जानकारी दिए । आफूले सानैदेखि उनको गीत सुनेको र त्यही गीतले आफूलाई आजको स्थानसम्म ल्याएको प्रधानको भनाइ छ । उनले आफूले रामकै अनुसरण गरेर संगीतलाई आफ्नो कर्म र पेसा बनाएको जानकारी दिए । उनले नेपाली संगीत क्षेत्रले एक कुशल सर्जक गुमाएको भन्दै धामीको आभव सँधै खड्किरहने बताए ।

ram 4

ram 3

 

ram 2