इटहरीः संगीतज्ञ राम धामीको आज साँझ दुःखद निधन भएको छ । इटहरी निवासी ५५ बर्षीय संगीतज्ञ धामीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज साँझ ५ बजे
निधन भएको हो । संगीत सधाना प्रतिष्ठान इटहरीका अध्यक्ष समेत रहेका धामी रेडियो नेपालका गायक तथा संगीतकार पनि हुन् । उनि १६ दिनअघि बिरामी भई धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका थिए । प्रतिष्ठानमा उनको स्वास्थ्य जाँच गर्दा कोरोना पोजेटिभ रिर्पोट आएको थियो । उनलाई ५ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । निमोनिया समेत देखिएको धामीको पछिल्लो स्वास्थ्य रिर्पोटमा कोरोना नेगेटिभ आएको थियो ।
थारु भाषाका अब्बल गायकका रुपमा समेत परिचित उनले दर्जनौं गीतहरुमा संगीत भरेका छन् । शास्त्रीय संगीतका गुरु समेत रहेका उनको संगीतमा देशका सिद्धहस्ती गायक गायिकाहरुले गीत गाएको संगीत साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केसीले बताए । उनका सृजनाहरु समाज परिर्वतन तर्फ बढी केन्द्रित हुने खालका छन् ।

उनले शिक्षा दिएका धेरै युवा युवतीहरु यतिबेला राम्रा गायक गायिका भएर नेपाली संगीत क्षेत्रमा छाइरहेका छन् । वरिष्ठ संगीतकार स्व.अमर गुरुगंलाई नागरिक तहबाट नेपालमै पहिलो पटक इटहरीमा रथारोहण गर्दा आयोजक समूहमा रहेर धामीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले काठमाण्डौंमा पनि राम धामी एकल साँझ गरेका थिए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सभा सदस्य समेत भएका थिए । उनको निधनले देशले नै संगीत क्षेत्रका एक हस्तीलाई गुमाउनु परेको प्रतिष्ठानका महासचिव केसीले बताए । उनको निधनले इटहरी मात्र नभई देशभरीका संगीत क्षेत्रका संलग्नहरु र आम श्रोता तथा दर्शक स्तब्ध भएका छन् । उनीसंग लामो समय सहकार्य गरेका संगीतकार एव्म गायक बिक्रम श्री बास्तोलाले धामीको निधनले नेपाली संगीत क्षेत्रमा ठूलो क्षति पुगेको बताए । उनले कल्पना नै गर्न नकिने घटनाले आफूलाई प्रताडित बनाएको बताए । संगीतज्ञ धामीको २ छोरी र श्रीमति छन् ।