पोखराः पोखराका कलाकार र साहित्यकार प्रधानमन्त्री के. पी. शर्मा ओलीले गरेका संसद् विघटनका विरुद्ध आन्दोलनमा उत्रिएका छन् ।
सङ्गम सांस्कृतिक मञ्च, पोखराको आयोजनामा शनिबार सहिदचोकमा भएको कार्यव्रmममा साहित्यकार तथा कलाकारहरुले आफ्ना कविता र गीतमार्फत् प्रधानमन्त्री ओलीको सो कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोध गरे । कार्यक्रममा मञ्चका अध्यक्ष काजी गाउँलेले वैदेशिक इसारामा केपी ओलीले संसद् विघटन गरेका भन्दै देश र जनताका पक्षमा गीत र कवितामार्फत् खबरदारी गरिरहने उद्घोष गरे । केही मात्रामा भए पनि जनपक्षीय रहेको संसद् विघटन गरेको बताउँदै गाउँलेले अब सङ्घीय जनगणतन्त्र र समाजवादसम्म पुग्नका लागि जनवादी शक्तिहरु अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
माक्र्सवादी चिन्तक तथा लेखक रामराज रेग्मीले यसअघिका संविधानहरुको तुलनामा २०७२ को संविधान प्रगतिशील रहेको बताउँदै यसलाई अपहरण गर्ने काम ओलीबाट भएको धारणा राखे । ओलीको कदमलाई २०१७ मा राजा महेन्द्रले गरेका ‘कू’सँग तुलना गर्दै रेग्मीले २०४७ को संविधानलाई उत्कृष्ट संविधान भनेर प्रचारबाजी गर्नेहरु नै अहिलेको संविधान कुल्चनेहरु भएको बताए । करिब २ तिहाइ मत पाएको कम्युनिस्ट पार्टीको अध्यक्षले जनताका प्रतिनिधिद्वारा निर्मित संविधानमाथि ‘कू’ गर्नु मामुली कुरा नभएको उनको भनाइ थियो । यो कुनै सनकका भरमा मात्रै आएको कुरा नभई नेपाली नागरिकको सशक्तता मन नपराउने विदेशी शक्तिहरुको इसारामा भएको रेग्मीको भनाइ थियो ।
अदालतमा विचाराधीन रहेको यस विषयमा बोल्न नहुने भन्ने तर्कको खण्डन गर्दै उनले षड्यन्त्रको गन्ध आएपछि बोल्नैपर्ने बताए । हिजो क्रान्तिकारी भनिएका साथीहरु पनि आज ओलीको कदमलाई क्रान्तिकारी कदम भनेर लाग्नुलाई उनले गलत कामको संज्ञा दिए । ‘व्यक्ति सधैँ उही रहँदैन, अमर रहने त विचार हो’ उनले भने, ‘व्यक्तिको जुँगा हेरेर पछि लाग्ने कुरा गलत हो, गलतलाई गलत र सहीलाई सही भन्न कम्तीमा पनि बौद्धिक वर्ग चुक्नुहुँदैन ।’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलकपाणि तिवारीले सजग हुन नसके अनेकौँ सङ्घर्ष गरेर ल्याएको उपलब्धीहरु गुम्ने खतरा औँल्याए । यो घटना ताजा जनादेशका लागि आएको नभई नेपाली जनताको उपलब्धीलाई अन्त्य गर्ने र नेपाललाई नयाँ ढङ्गले प्रतिगमनतिर लैजाने षड्यन्त्रका रुपमा आएको तिवारीको भनाइ थियो । जनता सचेत भइसकेको बताउँदै तिवारीले संवैधानिक प्रतिगमनका विरुद्ध राजनीतिक दलहरुले आन्दोलन गर्लान् भनेर मात्रै विश्वास गरेर नबसी बौद्धिक जगत् स्वतन्त्र ढङ्गले अघि बढ्नुपर्ने बताए । यो कुनै दलबिचको मात्र टकराव नभई नेपाली जनताका विरुद्ध चालिएको कदम भएकाले सचेत नागरिक समाज उठ्न उनले आग्रह गरे ।
प्रगतिशील लेखक सङ्घका सल्लाहकार तथा गण्डकी साहित्य सङ्गमका अध्यक्ष डा. कृष्णराज अधिकारीले कतिपय लेखक, कलाकारहरु खाइपाइ आएको सुविधा खोसिन्छ कि भनेर ओलीको कदमलाई समर्थन गरिरहेको बताए । यो आन्दोलन कुनै सरकार वा पार्टीको विरोध नभई नेपाली जनताले प्राप्त गरेको उपलब्धी गुम्ने खतराका विरुद्धमा रहेको बताए । राजनीतिक र व्यावहारिक दुवै दृष्टिबाट यो कदम औचित्यहीन भएको अधिकारीको तर्क थियो ।
कार्यक्रममा प्रा. डा. शोभाकान्त लामिछानेले केपी ओलीलाई जुन संविधान र संसद्ले प्रधानमन्त्री बनायो, त्यसैमाथि ‘कू’ गर्नु आमाकै चिरहरण गर्नु भएको बताए ।
साहित्य शृङ्खला, पोखराका पूर्व अध्यक्ष यादवराज उपाध्यायले कवि, लेखकहरु नै ढुलमुले भएर बसेको र अवसरको लोभमा गलतलाई सही भनेर हिँड्ने गरेकामा भत्र्सना गरे ।
मञ्चका सदस्य रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यक्रममा काजी गाउँले, विकास लुङ्गेली, रोशन लामा, डी. बी. बान्तवा, खेम लामा, रेशम बी. सी. र रोशन गुरुङले साङ्गीतिक प्रस्तुति राखेका थिए भने कविहरु सुरज उपाध्याय र छविलाल आचार्यले कविता प्रस्तुत गरेका थिए ।