काठमाडौँः नेपालमा जलपन्छीको गणना सुरू भएको छ । हिउँदको चिसो बढेसँगै चराहरूको बसाइँसराइ हुने समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको गणना शनिबारबाट सुरू भएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पन्छी संरक्षण संघ, हिमाली प्रकृति र स्थानियस्तरमा चरा तथा जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्ने संस्थाको हातेमालोमा गरिने यस गणनाको विश्वव्यापी रुपमा समन्वय वेटल्याण्ड इन्टरनेशनल संस्थाले गरेको छ । १८ पुसदेिख ५ माघसम्म जलपन्छी गणना हुनेछ । गणनामा चरा विज्ञ, सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधि, स्थानीय स्वयंसेवीलगायत तीनसय बढी जनशक्ति प्रयोग हुनेछ ।

सिमसार र आसपासको क्षेत्रमा प्रजनन गर्ने, चरन गर्ने र आफ्नो अधिकांश समय व्यतीत गर्ने चराका प्रजातिलाई पानी चरा अथवा जलपन्छी भनिन्छ । नेपालमा १०० भन्दा बढी प्रजातिका जलपन्छी रहेको र त्यसमध्ये अधिकांश पाहुना चरा रहेको बताइन्छ । स्वयंसेवीरूपमा गरिएको यस गणनामा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई संरक्षणमा जनचेतना अभिवृद्धिसमेत गर्ने उद्देश्य रहेको गणनाका राष्ट्रिय संयोजक डा हेमसागर बरालले जानकारी दिए । शनिबार पूर्वको कोशी टप्पु वन्यजन्तु आरक्ष र सुदूरपश्चिमको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गणनाको शुरुआत भएको उनले बताए । -रासस