इटहरीः अरबका घरेलु कामदारलाई अरबी भाषामा खदामा भनिन्छ । त्यही खदामाको कथाव्यथाको नाटक हाल झापाको काकरभिट्टामा मञ्चन भइरहेको छ ।

परिवर्तन थिएटरले सो नाटक असोज २० गतेबाट दैनिक मञ्चन गरिरहेको छ । नाटक २८ गतेसम्म मञ्चन हुने थिएटर सम्बद्ध संस्कृति रिजालले बताइन् । रिजालका अनुसार नाटकमा खाडी मुलुकमा पुगेका महिला कामदारलाई दलाल र मालिकले गर्ने शोषण, दमन र उत्पीडनको मार्मिक कथा प्रस्तुत गरिएको छ ।

झापाका पत्रकार पर्वत पोर्तेलले लेखेको र गणेश बस्नेतले निर्देशन गरेको खदामा नाटक १ घण्टा लामो रहेको छ । हाल दैनिक २ पटक नाटक मञ्चन भइरहेको बताइएको छ ।

दिउँसो साढे २ बजे र साँझ साढे ५ बजे बजे मञ्चन भइरहेको नाटकमा निर्देशक बस्नेतसहित अनुजा अधिकारी, कविता नेपाल, लीला विष्ट, दिनेश राजवंशी, पूजा आचार्य, लोमश पौडेल, प्रतीक्षा आचार्य, विमला चिमरिया, दिवेश लामिछाने, अभिशेष गड्तौलालगायतका कलाकारको अभिनय रहेको छ ।

सामुदायिक भवन काकरभिट्टामा नाटक मञ्चन भइरहेको हो । यस अघि परिवर्तन थिएटरले सुनामी, उन्यू, बस स्टप, राजाको नयाँ लुगाजस्ता नाटक मञ्चन गरिसकेको बताइएको छ ।